कारभित्र लुकाइराखेको अवस्थामा दश किलो गाँजासहित तीन जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
906
Shares
काठमाडौँ । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९ ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान ४:३० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई समातेको हो। प्रहरीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई रोकेर सुरक्षाजाँच गर्दा लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको थियो।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लास्थित सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर र मुजफ्फरनगरकै अम्बा बिहारका ४४ वर्षीय साबीरा रहेका छन्।
उनीहरूले भारतीय नम्बर प्लेटको कार प्रयोग गरी सीमा पार गराउने उद्देश्यले गाँजा ओसारपसार गरिरहेको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले गाँजा र कारसहित तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्याएको छ।
प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउन थप अनुसन्धान सुरु गरेको जनाएको छ। पछिल्लो समय मकवानपुरको बाटो हुँदै भारततर्फ लागूऔषध लैजाने गिरोह सक्रिय रहेकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। यो सफलतासँगै प्रहरीले यस क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा थप मद्दत पुग्ने विश्वास लिएको छ।