प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छन् : प्रधानमन्त्री कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
736
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले आफ्नो सरकार प्रहरीको अनुहार र व्यवहारमा देख्ने बताएकी छन् ।
सोमबार काठमाडौँमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औँ समूहको सपथ ग्रहण समारोहमा उनले प्रहरीहरूको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने भन्दै सबै जनाले कानूनभन्दा माथि कोही पनि नहुने कुरा सधैँ सम्झिनु पर्ने बताइन् ।
उनले भनिन्, ‘नागरिकले आफ्नो सरकार तपाईंहरूको अनुहार र व्यवहारमा देख्नेछन् । तपाईँको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने छन् । त्यसैले तपाईँहरूले सधैँ सम्झिनु होला कानूनभन्दा माथि कोही पनि छैन तर कानून कार्यान्वयन गर्ने जिम्मा पाएका अधिकृतहरूमा शिष्टचार र मानवताको धारणा पनि हुनुपर्छ । न्यायको यात्राको प्रथम ढोका नै तपाईँहरू हो ।’
उनले अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक भयो भने मात्र कानूनको सही कार्यान्वयन सम्भव हुने भन्दै यो कुरा न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा नजिकबाट देखेको बताइन् ।
उनले भनिन्, ‘न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा मैले नजिकबाट देखेको छु । कानूनको सही कार्यान्वयन तबमात्र सम्भव हुन्छ जब अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक हुन्छ ।’
सोही क्रममा गृहमन्त्री ओम प्रकाश अर्यालले आज लिएको सपथका शब्दहरूले सधैँ जिम्मेवारी बोध गराइ रहने विश्वास व्यक्त गरेका छन् ।
अनुशासित संगठनको सदस्यको रुपमा पालना गर्नुपर्ने आचरण, व्यवहार, शिक्षा, कला र कौशल सबै प्राप्त गरेर सपथ ग्रहणको तहसम्म पुगेको पनि उनको भनाइ छ ।
उनले भने, ‘आज तपाईँहरूले लिनुभएका सपथका शब्दहरूले तपाईँहरट्ठलाई सधैँ जिम्मेवारी बोध गराइ रहने छ भन्ने विश्वास लिएको छु । सपथका शब्द र मर्म तपाईँहरूको व्यवहारमार्फत सार्थक बनोस्, अनुशासित संगठनको सदस्यको रुपमा पालना गर्नुपर्ने आचरण व्यवहार शिक्षा कला र कौशल तपाईँहरूले प्राप्त गरि सक्नु भएको छ ।’