arrow

एकमहिने कठिन माधवनारायण व्रत सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
madhavnarayan1.jpg

काठमाडौँ । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं व्रत सम्पन्न भएको छ। नेपाल संवत्को आठौँ शताब्दीबाट सुरु भई हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यो धार्मिक अनुष्ठान आज विधिवत् रूपमा सकिएको हो। 

मेलाको पहिलो दिन त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरेका व्रतालुले आज पनि स्नान, जलार्पण र होमयज्ञादी गरी व्रत समापन गरेको पुजारी सरोजन शर्माले बताए। उनले साँखुको शालिनदीमा भन्दा पहिलेदेखि नै यो मेला सुरु भएको शिलालेख एवं ग्रन्थहरूमा उल्लेख रहेको जानकारी दिए। इतिहासअनुसार तत्कालीन राजा रणजित मल्ल आफैँ उपस्थित भएर यस व्रतको व्यवस्थापन गराएको पाइन्छ।

व्रतालुले एक महिनासम्म त्रिवेणी कुण्डमा दैनिक नित्य पूजा गर्ने तथा माधवनारायण एवं श्रीस्वस्थानीको कथा वाचन गर्ने गरेका थिए। नेसं ७२२ को शिलालेखमा उल्लेख भएअनुसार त्रिवेणीघाटमा डुबेर एकचित्त भई जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ टाढा-टाढाबाट मानिसहरू व्रत बस्न आउने गर्दछन्। 

व्रतालु विनोदकुमार प्रजापतिले दिएको जानकारीअनुसार यस अवधिमा खाली खुट्टा पैदल हिँडेर तिल माधवदेखि तलेजु भवानीसम्म र पनौती, पशुपति, चाँगुनारायण जस्ता विभिन्न तीर्थस्थल पुगेर स्नान एवं पूजा गर्ने गरिन्छ। माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएपछि मात्र यो एकमहिने कठिन साधना पूरा हुन्छ।

त्रिवेणीधाममा कतिपय व्रतालु महिना दिनसम्मै त्यहीँ बसेर व्रत पूरा गर्छन् भने कतिपय हरेक दिन बिहान नुहाउन र कलश यात्रामा सहभागी हुन आउने परम्परा रहेको पुजारी मनोज शर्माले बताए। यस वर्ष महिला र पुरुष गरी ३५ जनाले आवासीय रूपमा कठिन व्रत बसेका थिए भने समापनको दिन आज २०० भन्दा बढी महिलाले स्नान गरी व्रत पुरा गरेका छन्। तर हनुमन्ते खोलामा पानीको सट्टा ढल बग्ने भएकाले व्रतालुको सङ्ख्या विगतको तुलनामा घटेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्। 

भक्तपुर नगरपालिकाले ढललाई व्यवस्थित गरिदिए व्रतालुको सङ्ख्या बढ्ने उनीहरूको भनाइ छ। यसपटक नगरपालिकाले डोजर लगाएर खोलामा स्नान गर्ने खाल्डो बनाई इनारको पानी मिसाएर स्नानको व्यवस्था मिलाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ