अनुहार र पद हेरेर होइन, घोषणापत्र हेरेर भोट हालौँ : प्रदीप पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
2.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्रमा आधारित प्रतिस्पर्धी प्रणालीमा हुनुपर्ने बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा हालसम्म घोषणापत्रका आधारमा निर्वाचन हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
नेपालका राजनीतिक दल र मतदाता दुवैले घोषणापत्रका आधारमा उम्मेदवार छनोट गर्ने परिपाटी विकास गर्न नसकेको उनको भनाइ छ। महामन्त्री पौडेलका अनुसार अहिले पनि व्यक्तिको अनुहार, पद वा हैसियतका आधारमा उम्मेदवार छान्ने गलत प्रवृत्ति हाबी छ, जबकि मतदानको मुख्य आधार उम्मेदवारले अघि सारेको नीति र कार्यक्रम हुनुपर्छ।
उनले नीति केन्द्रित प्रतिनिधि छनोटका लागि मतदाता आफैँ सचेत हुनुपर्नेमा जोड दिए। राजनीतिक दलहरूले पनि एक–अर्कालाई गाली गरेर समय खेर फाल्नुभन्दा ठोस मुद्दा र कार्यक्रम प्रस्तुत गरेर प्रतिस्पर्धा गर्नुपर्ने उनले उल्लेख गरे। "मर्यादित र मुद्दामा आधारित प्रतिस्पर्धात्मक प्रणाली विकास गरेमा विवेकी मतदाताले कार्यक्रमकै आधारमा भोट हाल्नेछन्," उनले विश्वास व्यक्त गरे। पौडेलका अनुसार आम नागरिकले अहिलेको नेतृत्वबाट स्पष्ट आर्थिक अवधारणा र दृष्टिकोण खोजिरहेका छन् र वर्तमान राजनीतिको मुख्य एजेन्डा नै आर्थिक क्षमता वृद्धि हुनुपर्छ। उनले नयाँ आर्थिक दृष्टिकोण बनाउने प्रयास भइरहे पनि सोचेजस्तो सफलता पाउन नसकेको स्वीकार गरे।
आगामी निर्वाचनका लागि कांग्रेसले कार्यान्वयन गर्न सकिने कामहरूलाई मात्र समावेश गरेर घोषणापत्र तयार पार्न लागेको जानकारी समेत उनले दिए। उनले सुशासन, रोजगारी सिर्जना र आर्थिक विकास नै कांग्रेसको मुख्य चुनावी एजेन्डा हुने दाबी गरे। "हामीले जे गर्न सक्छौँ, त्यही मात्र घोषणापत्रमा लेख्छौँ," उनले भने। दलहरूले घोषणापत्रलाई केवल औपचारिकतामा सीमित राख्दा लोकतन्त्रप्रति नागरिकका गुनासा बढेको भन्दै उनले अबको राजनीतिलाई योजना र नतिजामुखी बनाउनुपर्नेमा जोड दिए।