राजन भट्टराईको चेतावनी: "हिंसाबाट सत्ता खोज्नेले देशलाई युक्रेन बनाउँछन्"
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
925
Shares
काठमाडौँ ।नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देशलाई युक्रेनको जस्तो भयावह अवस्थामा पुर्याउने बताएका छन्।
एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता गतिविधिले मुलुकलाई गम्भीर सङ्कटतर्फ धकेल्न सक्ने खतरा औँल्याए। विभिन्न शक्तिहरूले भ्रम र लाञ्छना फैलाइरहेको भन्दै उनले मतदाताहरूलाई कुनै पनि हालतमा अलमलमा नपर्न आग्रह गरे। डा. भट्टराईले मुलुकको भविष्य जोगाउन यसपटकको निर्वाचनमा विवेकपूर्ण मतदान गर्नुपर्नेमा विशेष जोड दिए।
२१ औँ शताब्दीको तेस्रो दशकमा आइपुग्दा पनि खरानीमाथि उभिएर शासन सत्तामा पुग्न खोज्ने प्रवृत्ति सक्रिय रहेको भन्दै उनले त्यस्ता तत्वहरूको पहिचान गर्नुपर्ने बताए। "यदि हामी विवेकी मतदाताले यो कुरा बुझ्न सकेनौँ र बहकिरहेको युवा पुस्तालाई सही बाटो देखाउन सकेनौँ भने यो मुलुकले नचाहँदा नचाहँदै युक्रेनको बाटो समाउन सक्छ," उनले चेतावनी दिँदै भने। उनले अहिलेको अवस्थामा नवयुवाहरूलाई सही कुरा बुझाउनु नै सबैभन्दा ठूलो चुनौती र जिम्मेवारी रहेको उल्लेख गरे।
सचिव भट्टराईले विपक्षीहरूले अनेकौँ भ्रम छरेर एमालेमाथि लाञ्छना लगाउने काम गरिरहेको आरोप लगाए। उनले यस्ता भ्रमहरूको पछि नलागी मुलुकको समृद्धि र राजनीतिक स्थिरताका लागि एमालेको पक्षमा उभिन कार्यकर्ताहरूलाई निर्देशन दिए।