arrow

मध्यपूर्वमा सैन्य होडबाजी: अमेरिकाले इजरायल र साउदीलाई झन्डै १६ अर्ब डलरका हतियार बेच्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
middle-east-map.jpg

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मध्यपूर्वका आफ्ना दुई प्रमुख साझेदार देश इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री गर्ने निर्णयलाई स्वीकृत गरेको छ। ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि ९ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको हो। 

यस सम्झौताअनुसार अमेरिकाले साउदी अरबलाई ७३० वटा 'पैट्रियट मिसाइल' र त्यससँग सम्बन्धित अत्याधुनिक उपकरणहरू उपलब्ध गराउनेछ, जसले साउदीको क्षेत्रीय हवाई र मिसाइल रक्षा क्षमतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यसैगरी, इजरायलले अमेरिकासँग शक्तिशाली बख्तरबन्द गाडी, ३० वटा 'एपाच' हेलिकप्टर र ३ हजार २५० वटा हल्का ट्याक्टिकल वाहनहरू खरिद गर्नेछ। एपाच हेलिकप्टर र यसका उपकरणहरूको लागत ३ अर्ब ८० करोड डलर रहेको छ भने हलुका ट्याक्टिकल गाडीहरूको मूल्य १ अर्ब ९८ करोड डलर तोकिएको छ। 

अमेरिकी प्रशासनले यो हतियार बिक्रीबाट मध्यपूर्वको सैन्य सन्तुलनमा कुनै प्रतिकूल असर नपर्ने दाबी गरेको छ। बरु, यसले दुवै देशलाई आफ्नो सीमा र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न थप मद्दत पुग्ने ट्रम्प प्रशासनको तर्क छ।

यद्यपि, अमेरिकाभित्रै केही नेताहरूले यो सम्झौतालाई हतारमा अगाडि बढाइएको भन्दै आलोचना गरेका छन्। उनीहरूले यति ठूलो परिमाणमा हतियार प्रवाह गर्दा क्षेत्रमा तनाव झनै बढ्न सक्ने आशङ्का व्यक्त गरेका छन्। 

यो निर्णय मध्यपूर्वमा बढ्दो तनाव र इरानसँगको बिग्रँदो सम्बन्धका बीच सम्भावित सैन्य गतिविधिलाई ध्यानमा राखेर आएको देखिन्छ। यसअघि इरानले आफ्नो सैन्य तयारी तीव्र पारेको खबर आएलगत्तै अमेरिकाले यो कदम चाल्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ