कञ्चनपुरमा चुनावी सरगर्मी: ३६० मतदान केन्द्रमा दुई हजार बढी कर्मचारी खटिने
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
873
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ कर्मचारी खटाउने तयारी गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार जिल्लाभर तीन सय ६० स्थायी र दुईवटा अस्थायी मतदान केन्द्रहरू निर्धारण गरिएका छन्।
प्रत्येक स्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी गरी ६ जना कर्मचारी खटाइनेछ। अस्थायी केन्द्रमा भने तीन जना कर्मचारी मात्र रहने व्यवस्था मिलाइएको छ।
निर्वाचनमा खटिने टोलीमा निजामतीतर्फका स्थायी कर्मचारी, शिक्षक र संस्थानका कर्मचारीहरू रहनेछन्। सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले उनीहरूको खटनपटन गर्नेछन् भने स्वयंसेवकहरूको नियुक्ति भने मतदान अधिकृत आफैँले गर्ने व्यवस्था रहेको निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए। उनले केही दिनभित्रै कर्मचारीहरूको अन्तिम विवरण सङ्कलन र जिम्मेवारी बाँडफाँटको काम अगाडि बढ्ने जानकारी दिएका छन्।
यसपटक कञ्चनपुरमा मतदाताको चापलाई हेरेर १४ वटा नयाँ मतदान केन्द्रहरू थपिएका छन्। निर्वाचन क्षेत्र नं १ मा एक सय २२, क्षेत्र नं २ मा एक सय २३ र क्षेत्र नं ३ मा एक सय १५ वटा मतदान केन्द्रहरू रहेका छन्।
जिल्लाभर कुल तीन लाख १४ हजार ३८५ मतदाता कायम भएका छन्, जसमा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी छ। तथ्याङ्कअनुसार एक लाख ६० हजार ३१६ महिला र एक लाख ५४ हजार ६८ पुरुष मतदाताले यसपटक आफ्नो मताधिकार प्रयोग गर्दैछन्।