काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र साह बालेन चुनावी अभियानका क्रममा सुर्खेत पुगेका छन्। सुर्खेतमा आयोजना गरिएको विशेष चुनावी कार्यक्रम तथा भेटघाटमा सहभागी हुन उनीसहित पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेतृत्व त्यहाँ पुगेका हुन्।
सुर्खेत पुगेलगत्तै नेता बालेनले रास्वपाका तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार टेकबहादुर सिंह ठकुरी, क्षेत्र नम्बर २ का उम्मेदवार रमेश सापकोटा र कर्णाली प्रदेश सभापति मदन खड्कालगायतका स्थानीय नेताहरूसँग भेटघाट गरी चुनावी रणनीतिका बारेमा छलफल गरेका छन्।
सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक व्यवस्थालाई पार्टीको मुख्य एजेन्डा बनाएर बालेन अहिले देश दौडाहामा निस्किएका छन्। उनले सुर्खेतका विभिन्न स्थानमा पुगेर मतदाताको भावना बुझ्ने र पार्टीको लक्ष्यबारे जानकारी दिने काम गरिरहेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा आफ्नो चुनावी अभियानलाई निकै तीव्रता दिएको छ।
पार्टीले जनतासँग प्रत्यक्ष संवाद, घरदैलो अभियान र सार्वजनिक कार्यक्रममार्फत मतदाताको विश्वास जित्ने प्रयासलाई जारी राखेको छ। कर्णालीको विकास र यहाँका समस्यालाई संसद्मा बुलन्द रूपमा उठाउने प्रतिबद्धतासहित बालेनले स्थानीयलाई रास्वपाको पक्षमा मतदान गर्न अपिल गरेका छन्।