arrow

लोप हुँदै गरेको रैथाने बाली जोगाउँदै जन्तेढुङ्गा

९० रुपैयाँ किलोमा पाइने भयो फापर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
jantedhunga_-office_photo_1.jpg

काठमाडौँ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत विनियोजन गरिएको एक लाख रुपैयाँ बजेटबाट यो सफलता मिलेको हो।

गाउँपालिका प्रमुख अरुणादेवी राईका अनुसार लोप हुँदै गएको र स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने यो औषधिजन्य बालीलाई प्रोत्साहन गर्न गाउँपालिका आफैँले खेती सुरु गरेको हो। उत्पादित फापरको मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ र खरिद गर्न इच्छुकले चिसापानी बजारमा गएर लिन सक्ने उनले जानकारी दिइन्।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअनुसार वडा नं ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कस्थित सरकारी तथा पर्ती जग्गामा यो खेती लगाएको थियो। कृषि विकास शाखा प्रमुख काजोल कुश्माका अनुसार जमिन खनजोतदेखि बाली उठाउनेसम्मका काममा स्थानीय कामदारलाई पारिश्रमिक दिएर लगाइएको थियो। जन्तेढुङ्गा गाउँपालिकाले यसअघि सोही ठाउँको बाँझो जमिन उपयोग गरेर ६ हजार किलो आलुसमेत उत्पादन गरिसकेको छ। कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सुरु गरिएको आलुखेती कार्यक्रममार्फत गाउँपालिकाले आफ्नो आन्तरिक आयस्रोत वृद्धि गर्ने लक्ष्य राखेको छ।

करिब ६१ रोपनी सार्वजनिक बाँझो जमिन फोरेर लगाइएको आलु खन्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका सहभागीहरूलाई परिचालन गरिएको थियो। गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले उत्पादित आलुलाई चिसापानी बजारस्थित कोसेली घरमा भण्डारण गरी सुपथ मूल्यमा बिक्री गरिएको बताए।

वर्षौँदेखि बाँझो रहेको जग्गामा खेती गर्दा उत्पादनमा जोड दिनुपर्छ भन्ने राम्रो सिकाइ भएको र साना दानालाई बीउका रूपमा सुरक्षित राखिएको उनले जानकारी दिए। गाउँपालिकाले स्थानीय नागरिकलाई व्यावसायिक बनाउन प्रोत्साहन रकम समेत उपलब्ध गराउँदै आएको छ। आगामी वर्ष पनि सोही क्षेत्रमा आलुखेतीलाई निरन्तरता दिने योजना छ र त्यसका लागि आवश्यक मल उत्पादन गर्न वडा कार्यालयले भैँसी खरिदका लागि समेत बजेट विनियोजन गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ