arrow

परमाणु वार्ता र मिसाइल विवाद : ट्रम्पको अफरमा इरानको आफ्नै सर्त

ट्रम्पसँग वार्ता हुनसक्छ, तर मिसाइलमा हात हाल्न पाइँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
abbas-araghachi-iran.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाही गर्ने आफ्नो इच्छा नरहेको बताएपछि इरानले आफ्नो क्षेप्यास्त्र र प्रतिरक्षा क्षमता कहिल्यै पनि वार्ताको विषय बन्न नसक्ने स्पष्ट पारेको छ। ट्रम्पले हालैका प्रदर्शनहरूमा भएको दमनलाई लिएर हस्तक्षेपको चेतावनी दिने र मध्यपूर्वमा युद्धक जहाजहरू पठाउने बताएपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको छ। 

बिहीबार राति ट्रम्पले तनाव कम गर्ने मनसायले आफू वार्ताका लागि तयार रहेको बताए पनि तेहरानलाई आफ्नो परमाणु कार्यक्रममा सम्झौता गर्न कडा दबाब दिएका छन्। अमेरिका र पश्चिमा देशहरूले इरानलाई परमाणु बम बनाउनबाट रोक्न यस्तो दबाब दिँदै आएका हुन्।

इरानका विदेश मन्त्री अब्बास अराघचीले टर्की भ्रमणका क्रममा आपसी हित र सम्मानका आधारमा समान स्तरमा वार्ता भए तेहरान तयार रहेको बताए। तर, उनले इरानको रक्षात्मक र क्षेप्यास्त्र क्षमतामा कुनै पनि हालतमा सम्झौता वा वार्ता नहुने दृढता व्यक्त गरे। 

अमेरिकी अधिकारीहरूले भने इरानसँगको कुनै पनि नयाँ सम्झौतामा लामो दूरीका मिसाइलहरूको भण्डारमा सीमा तोकिनुपर्ने, संवर्धित युरेनियम हटाउनुपर्ने र स्वतन्त्र संवर्धनमा प्रतिबन्ध लगाउनुपर्ने सर्त अघि सारेका छन्। अङ्कारास्थित 'सेन्टर फर इरानी स्टडिज' का निर्देशक सेरहन अफाकानका अनुसार इरानका लागि ब्यालेस्टिक मिसाइल कार्यक्रम उसको रक्षा योजनाको केन्द्र (रातो रेखा) भएकाले यसमा सम्झौता हुनु असम्भव देखिन्छ।

यसैबीच, टर्कीका विदेशमन्त्री हाकान फिदानले क्षेत्रीय तनाव कम गर्न वासिङ्टन र तेहरानबीचको वार्ता महत्त्वपूर्ण हुने बताएका छन्। उनले इजरायलले अमेरिकालाई इरानमाथि आक्रमण गर्न दबाब दिइरहेको दाबी गर्दै वासिङ्टनलाई संयमित भएर काम गर्न आग्रह गरे। 

इरानले डिसेम्बरदेखि सुरु भएको र जनवरीको दोस्रो साता चरममा पुगेको आन्दोलनका लागि अमेरिका र इजरायललाई दोषी ठहर गरेको छ। सो आन्दोलनमा हजारौँ इरानीले ज्यान गुमाएका छन्। मानवअधिकारवादी संस्था एचआरएएनएका अनुसार ११८ बालबालिकासहित ६ हजार ४७९ जनाले ज्यान गुमाएको दाबी गरिएको छ भने इरान सरकारले मृतकको सङ्ख्या करिब तीन हजार मात्र रहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ