arrow

विभागको बजार मूल्य विश्लेषण प्रतिवेदन

चामल र दालमा सामान्य उतारचढाव, मसला र फलफूलमा देखियो असामान्य महँगी

बिचौलियाका कारण मूल्यमा अस्वाभाविक उतारचढाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
rice-pure.jpg

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको बजार मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै बजारमा बिचौलियाका कारण मूल्यमा अस्वाभाविक उतारचढाव आएको निष्कर्ष निकालेको छ।

विभागले काठमाडौँ, विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी जस्ता प्रमुख सहरहरूबाट विवरण सङ्कलन गरी अध्ययन गर्दा उपभोग्य वस्तुको मूल्यमा सामान्यदेखि मध्यम उतारचढाव भएको पाएको छ। प्रतिवेदनमा विशेषगरी तरकारी, फलफूल र खाद्यान्नको मूल्य किसानको उत्पादन लागतभन्दा बिचौलियाका कारण बढेको स्पष्ट पारिएको छ।

खाद्यान्नको बजार विश्लेषण गर्दा मङ्सिरको तुलनामा पुसमा सोना मन्सुली चामलको मूल्य केही घटेको देखिए पनि बास्मती चामल र विभिन्न प्रकारका दालको मूल्यमा भने वृद्धि भएको छ। गेडागुडीको मूल्यमा सामान्य परिवर्तन भए तापनि राज्मा सिमीको मूल्यमा मध्यम स्तरको उतारचढाव देखिएको छ।

तरकारी तथा मसलाको हकमा आलु, काउली र प्याजमा खासै ठूलो परिवर्तन नभए पनि अदुवा, गोलभेँडा, सुकेको लसुन र खुर्सानी जस्ता मसलाजन्य वस्तुको मूल्यमा भने निकै ठूलो अन्तर पाइएको छ। फलफूलतर्फ स्याउ र अनारको मूल्यमा असामान्य उतारचढाव देखिएको छ भने माछा, मासु र अण्डाको मूल्यमा भने सहरअनुसार सामान्यदेखि मध्यम परिवर्तन मात्र आएको छ।

सबैभन्दा डरलाग्दो तथ्य त तरकारीको मूल्यमा देखिएको छ, जहाँ घिउसिमी हाइब्रिड, परवर, काँक्रो हाइब्रिड र कुरिलो जस्ता तरकारीको मूल्यमा एक सय नौ प्रतिशतदेखि एक सय ६० प्रतिशतसम्मको भारी वृद्धि भएको अध्ययनले देखाएको छ।

यस्तो अस्वाभाविक मूल्यवृद्धिलाई निरुत्साहन गर्न विभागले सिन्डिकेट र कार्टेलिङको अन्त्य गर्नुपर्ने र बिचौलियाको चलखेल रोक्न सरकारी संस्थान, सहकारी र साझा व्यापारिक सञ्जालको विकास गर्नुपर्ने सुझाव दिएको छ। बजारमा मूल्य स्थिरता कायम गर्न उत्पादन बढाउने, वितरणका तहहरू कम गर्ने र नियमित रूपमा प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकतालाई पनि प्रतिवेदनले जोड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ