निर्वाचन आयोगको तयारी तीव्र: जिल्ला अनुसारका नमूना मतपत्रहरू सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
751
Shares
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रका नमूनाहरू सार्वजनिक गरेको छ।
आयोगले सातवटै प्रदेशका जिल्लाहरूलाई समेटेर मतपत्रको ढाँचा बाहिर ल्याएको हो। यसपटक एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र एकभन्दा बढी क्षेत्र भएका जिल्लाका लागि फरक-फरक प्रकारका मतपत्रका नमूना तयार पारिएका छन्।
आयोगका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार निर्धारण गरिएको छ। धेरै उम्मेदवार भएका क्षेत्रमा ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र रहनेछ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र र उम्मेदवार भएको काठमाडौँमा मतपत्रको आकार सबैभन्दा ठूलो हुने देखिएको छ।
आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका वास्तविक मतपत्रका नमूना सार्वजनिक गरिसकेको छ। कर्णालीका सल्यान, डोल्पा, मुगु, जुम्ला जस्ता एक निर्वाचन क्षेत्र भएका जिल्ला र दैलेख, सुर्खेत जस्ता दुई क्षेत्र भएका जिल्लाका नमूना सार्वजनिक भएका छन्। त्यस्तै, सुदूरपश्चिमका बाजुरा, बझाङदेखि पाँच निर्वाचन क्षेत्र भएको कैलालीसम्मका नमूनाहरू आयोगले सार्वजनिक गरेको हो।
अन्य जिल्लाका मतपत्रहरू पनि क्रमशः सार्वजनिक गर्दै जाने आयोगको योजना छ। जनक शिक्षा सामग्री केन्द्रमा अहिले मतपत्र छपाइको काम धमाधम भइरहेको छ भने समानुपातिकतर्फको छपाइ भने सकिइसकेको छ। मतदातालाई सही तरिकाले छाप लगाउन सिकाउनका लागि आयोगले नमूना मतपत्रहरू मतदान केन्द्रसम्म पुर्याउने काम पनि सुरु गरिसकेको छ।