arrow

निर्वाचनका लागि भारतले नेपाललाई दियो अढाई सय गाडी, बाँकी अर्को साता आउने

अर्थमन्त्रीले भने- सङ्कटको साथी भारत, चुनावका लागि ठूलो आर्थिक भार कम भयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
india-nepal-ccar.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाललाई सुरक्षा सामग्री र सवारी साधन हस्तान्तरण गरेको छ। बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि बजेट पर्याप्त नभएको अवस्थामा भारतले गरेको यो सहयोगले लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भारतलाई नेपालको ‘फर्स्ट रेस्पोन्डर’ (पहिलो सहयोगी) को रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको समेत स्मरण गरे।

जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएका थिए। यी नयाँ सवारी साधनले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास अर्थमन्त्रीले व्यक्त गरेका छन्। मन्त्री खनालका अनुसार यी सामग्रीहरू सरकार आफैँले खरिद गर्नुपरेको भए राज्यलाई ठूलो आर्थिक भार पर्ने थियो, जसलाई भारतीय सहयोगले कम गरेको छ।

"नेपाललाई सङ्कट पर्दा भारत सधैँ पहिलो सहयोगीका रूपमा उभिएको छ," उनले भने। भारत सरकारले नेपाललाई उपहार स्वरूप कुल ६५० वटा सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, जसमध्ये २५० वटा बिहीबार नै हस्तान्तरण गरिएको छ। बाँकी सवारी साधनहरू आगामी साताभित्र उपलब्ध गराइने भारतीय अधिकारीहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ