नयाँ दलहरूमा पनि खास समुदायकै वर्चस्व : विश्लेषक साह
दलितले चुनाव नै नजित्ने र खस-आर्यले ७७ वटै जिल्लाबाट जित्ने अवस्था
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
890
Shares
काठमाडौं । राजनीतिक विश्लेषक तुला नारायण साहले नेपालमा पहिले संघर्ष गरेका, राजनीति बढी जानेका र दल निर्माणमा सक्रिय भएका खास समुदायको मात्रै अहिलेका राजनीतिक दलहरूमा वर्चस्व रहेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित समावेशी प्रतिनिधित्व र सीमान्तकृत समुदायमुखी घोषणापत्रसम्बन्धी अन्तरक्रियामा बोल्दै साहले उदाउँदै गरेका नयाँ दलहरूमा पनि निश्चित समुदायकै हालिमुहाली देखिएको टिप्पणी गरे। उनले सबै दलमा दलित, मधेशी, थारू, मुस्लिम र समग्र महिला समुदायको उपस्थिति 'दयाको पात्र' को रूपमा मात्रै देखिएको धारणा राखे।
साहले भने, "तथ्यांकले के देखाउँछ भने धेरै प्रयासका बाबजुद निर्णय गर्ने ठाउँमा केही जातीय समुदायको सहभागिता निकै कम छ। जसले पहिले दल बनाए र राजनीतिमा सक्रिय भए, उनीहरूकै वर्चस्व आज पनि कायम छ। नयाँ दलहरूमा पनि यही प्रवृत्ति दोहोरिएको छ।"
उनले नेपालको निर्वाचन परिणामलाई जातका आधारमा विश्लेषण गर्दै दलित समुदायले चुनाव नै जित्न नसक्ने अवस्था रहेको औँल्याए। थारू, मुस्लिम, जनजाति र मधेशीले आफ्नो जनसांख्यिक बाहुल्यता भएको ठाउँबाट मात्रै जित्ने गरेको तर खस आर्य समुदायका पुरुषहरूले भने सातै प्रदेश र ७७ वटै जिल्लाबाट जितेको इतिहास रहेको उनले बताए। साहले नेपालका सबै पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिताको अवस्था निकै कमजोर रहेको तर्क गरे।