निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
698
Shares
काठमाडौं । राष्ट्रिय सूचना आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार बन्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ।
आयोगले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्वाचनका क्रममा फैलिने भ्रामक र गलत सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सत्य-तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न निर्देशन दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता एवं सूचना आयुक्त गगन विष्टले निर्वाचनसम्बन्धी सूचना समयमै र सबैले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन्। उनले गलत र भ्रामक सूचनामाथि निगरानी तथा नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय राख्न समेत सरकारलाई सचेत गराए।
उनले निर्वाचन आयोगलाई मतदाता शिक्षा प्रभावकारी बनाउन, बहुभाषिक माध्यमबाट सूचना प्रवाह गर्न र निर्वाचनसम्बन्धी ऐन, कानुन एवं आचारसंहिता समयमै सार्वजनिक गर्न निर्देशन दिएका छन्। त्यस्तै, राजनीतिक दल र उम्मेदवारहरूलाई गालीगलौज, दुष्प्रचार र मिथ्या सूचनाको प्रयोग नगर्न तथा आधिकारिक सूचना प्रवाहका लागि सूचना अधिकारी तोक्न उनले आग्रह गरे।
सञ्चारमाध्यमका हकमा समाचार सम्प्रेषण गर्दा निष्पक्षता र सन्तुलन कायम राख्न तथा कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रूपमा प्रकाशन/प्रसारण नगर्न उनले सचेत गराएका छन्। साथै, सर्वसाधारण नागरिकलाई पनि सामाजिक सञ्जालमा सूचना सेयर गर्नुअघि त्यसको विश्वसनीयता यकिन गर्न र भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन उनले आग्रह गरे।