arrow

कञ्चनपुरमा बीना मगरलाई जित फर्काउने दाउ, साउदलाई विरासत जोगाउने चुनौती

रमेश लेखकको साटो हरि बोहरा मैदानमा, डा. दीपक भट्टसँग भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
bina-magar-dahal.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताहरूको गृह जिल्ला मानिने कञ्चनपुरमा यसपटकको भिडन्त निकै रोचक हुने देखिएको छ।

निर्वाचन क्षेत्र नं १ मा बीना र तारा लामाको पुरानै भिडन्त यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा छिन्। २०७९ को निर्वाचनमा नेकपा (एमाले) का तारा लामा तामाङसित पराजित भएकी बीना यसपटक २०७४ को जित फर्काउने दाउमा छिन्। एमालेले पुनः तामाङलाई नै उम्मेदवार बनाएको छ ।

यहाँ नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्याय र राष्ट्रिय स्वतन्त्र पार्टीका जनकसिंह धामी पहिलोपटक प्रतिस्पर्धा गर्दैछन्। १९ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा तीन ठूला दलबीच नै हुने देखिन्छ।

क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट पूर्वमन्त्री नारायणप्रकाश साउद चुनावी मैदानमा छन्। २०७९ मा विजयी भएका साउदलाई यसपटक एमालेका युवा नेता बचनबहादुर सिंहले चुनौती दिँदैछन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहरा र नेपाली कम्युनिष्ट पार्टीका युवा नेता माधव पन्त पनि पहिलोपटक चुनावी भिडन्तमा उत्रिएका छन्।

महेन्द्रनगर समेटिएको क्षेत्र नं ३ यसपटक चर्चाको केन्द्रमा छ। कांग्रेसका प्रभावशाली नेता रमेश लेखकलाई पार्टीले उम्मेदवार नबनाएपछि कांग्रेसका पूर्वजिल्ला सभापति हरिप्रसाद बोहराले टिकट पाएका छन्। उनलाई कांग्रेसको विरासत जोगाउने चुनौती छ। एमालेले पूर्वसांसद डा. दीपकप्रकाश भट्टलाई मैदानमा उतारेको छ भने नेपाली कम्युनिष्ट पार्टीबाट मानबहादुर सुनार र रास्वपाबाट ज्ञानेन्द्र महता प्रतिस्पर्धामा छन्।

निर्वाचन नजिकिएसँगै दलहरू वडा-वडामा सम्पर्क कार्यालय खोल्ने र घोषणापत्र तयारीमा व्यस्त छन्। कांग्रेस सचिव भीमराज भट्टले ९२ वटै वडामा सम्पर्क कार्यालय खोल्ने तयारी भइरहेको बताए भने एमाले सचिव पल्लभराज भट्टले केन्द्रको घोषणापत्र आएपछि स्थानीय एजेन्डा थपेर प्रचारलाई तीव्र पारिने जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ