सुर्खेतमा अब १३२ केभीको 'पावर': भोलिदेखि विद्युत् प्रवाह गरी परीक्षण गरिँदै
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
767
Shares
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ। नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्ड तयार भएको हो।
नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक प्रमुख शशीभूषण शाहका अनुसार सम्पन्न भएको यस प्रसारण लाइनलाई तत्कालै राष्ट्रिय प्रणालीमा जोडिनेछ। बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट भोलि (माघ १६ गते) देखि विद्युत् प्रवाह गरी परीक्षण गरिने उनले जानकारी दिए। बाँके, बर्दिया र सुर्खेतको रुटमा सफल परीक्षण भएपछि यो लाइन पूर्ण रूपमा सञ्चालनमा आउनेछ।
प्रसारण लाइनमा उच्च भोल्टेजको विद्युत् प्रवाह हुने भएकाले प्राधिकरणले सर्वसाधारणका लागि सुरक्षा सतर्कता जारी गरेको छ। प्राधिकरणले टावरमा नचढ्न, कुनै पनि वस्तुले तार वा टावरलाई नछुन, टावर वरिपरि नजान र गाईवस्तुलाई टावर नजिक जान नदिन अनुरोध गरेको छ। साथै बालबालिकालाई विद्युतीय संरचनाको नजिक जान नदिन र खतराका सङ्केतलाई बेवास्ता नगर्न सचेत गराएको छ। परीक्षणका क्रममा कतै भिल्का आएमा वा खतरा देखिएमा तत्काल प्राधिकरण वा नजिकैको प्रहरीलाई खबर गर्न समेत उनले आग्रह गरे।