मधेसको राजनीतिमा 'जेन-जी' हस्तक्षेप: ५८ युवा उम्मेदवार चुनावी मैदानमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
740
Shares
काठमाडौं । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेन-जी’ अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई प्रतिविम्बित गरेको छ।
विशेषगरी गत भदौमा भएको नवयुवाको आन्दोलनपछि राजनीतिमा उनीहरूको प्रत्यक्ष हस्तक्षेप बढेको मधेस प्रदेशमा पनि अनुभूत भएको छ। मधेस प्रदेशबाट ५८ जना जेन-जी पुस्ताका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसमा २ जना महिला र ५६ जना पुरुष छन्। ४१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने १२ वटा राजनीतिक दलबाट १७ जना युवा उम्मेदवार बनेका छन्।
उज्यालो नेपाल पार्टी र जनमत पार्टीले ३–३ जना तथा श्रम संस्कृति पार्टीले २ जना जेन-जी युवालाई टिकट दिएका छन्। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा र नेमकिपा लगायतका दलले १–१ जना युवालाई चुनावी मैदानमा उतारेका छन्। एमालेले सर्लाही-४ बाट २७ वर्षीय अमनिशकुमार यादवलाई उठाएको छ, जहाँ गगन थापा र अमरेश सिंह जस्ता हेभीवेट उम्मेदवारसँग उनको प्रतिस्पर्धा हुनेछ। रास्वपाले पूर्वमन्त्री बब्लु गुप्तालाई सिरहा-१ बाट उम्मेदवार बनाएको छ।
समाजशास्त्री नीलबहादुर लुम्रेका अनुसार यी युवा उम्मेदवारको साझा विशेषता पुराना दलका शैलीप्रति असन्तुष्टि र नयाँ सोचसहितको हस्तक्षेप हो। उनीहरू सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्रमुख एजेन्डा बनाएर मतदातासामु पुगिरहेका छन्। राजनीतिक विश्लेषक शङ्कर महतोका अनुसार जेन-जी उम्मेदवारहरूको उपस्थिति जित–हारभन्दा पनि दीर्घकालीन रूपमा राजनीतिक संस्कार परिवर्तनको सङ्केत हो। उनीहरूको सहभागिताले आगामी दिनमा अझ बढी युवालाई राजनीतिमा प्रेरित गर्ने महतोको विश्वास छ।