यी हुन् महोत्तरी, तनहुँ र सोलुका संवेदनशील मतदानस्थल
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
676
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा तयारीका क्रममा महोत्तरी, तनहुँ र सोलुखुम्बुका सुरक्षा निकायले संवेदनशील मतदानस्थलहरूको पहिचान गरी निर्वाचन आयोगलाई जानकारी गराएका छन्। जिल्ला सुरक्षा समितिहरूले भौगोलिक अवस्था, विगतका घटना र सुरक्षा चुनौतीलाई आधार मानेर ती स्थानहरूको वर्गीकरण गरेका हुन्।
सोलुखुम्बु जिल्लामा रहेका कुल १२४ मतदानस्थलमध्ये १० वटालाई अतिसंवेदनशील र ४१ वटालाई संवेदनशीलको सूचीमा राखिएको छ भने यहाँ कुल ८५ हजार ५१५ मतदाता कायम छन्। यसैगरी महोत्तरीमा रहेका कुल २५८ मतदानस्थलमध्ये १६३ वटालाई अतिसंवेदनशील र बाँकीलाई संवेदनशील मानिएको छ। विशेषगरी महोत्तरीको क्षेत्र नं ३ र ४ का केही मतदानस्थल भारतसँगको खुला सिमाना नजिक रहेकाले तिनलाई उच्च सुरक्षा जोखिममा राखी अतिसंवेदनशीलको सूचीमा समावेश गरिएको छ। महोत्तरीमा यसपटक ५३६ मतदान केन्द्र रहनेछन्, जबकि अघिल्लो निर्वाचनमा ४९९ केन्द्र मात्र थिए।
तनहुँ जिल्लामा भने कुल १४४ मतदानस्थलमध्ये ८ वटालाई अतिसंवेदनशील र ५२ वटालाई संवेदनशीलको सूचीमा राखिएको स्थानीय प्रशासनले जनाएको छ। दुईवटा निर्वाचन क्षेत्र रहेको तनहुँमा ३०९ मतदान केन्द्र रहनेछन् भने कुल मतदाताको संख्या २ लाख ५४ हजार ३९७ पुगेको छ। यसमध्ये क्षेत्र नं १ मा १ लाख ३६ हजार ११८ र क्षेत्र नं २ मा १ लाख १८ हजार २७९ मतदाता रहेका छन्। सुरक्षा निकायले वर्गीकरण गरेका यी स्थानहरूमा निर्वाचनको समयमा सोहीअनुसारको थप सुरक्षा बल परिचालन गरिनेछ।