अस्पतालमा बच्चा जन्माएर आमा सम्पर्कविहीन, शिशु बालआश्रममा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
817
Shares
उर्लाबारी । लेटाङ नगरपालिका-८ निवासी १६ वर्षीया किशोरीबाट जन्मिएको नवजात पुरुष शिशुलाई आमाले अस्पतालमै छाडेर गएपछि उर्लाबारी-७ स्थित नमूना बालआश्रममा अस्थायी संरक्षणमा राखिएको छ ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीका अनुसार माघ ९ गते उक्त शिशुको जन्म भएको थियो ।
जन्मपछि आमाले शिशुलाई अस्पतालमै छाडेर सम्पर्कविहीन बनेपछि शिशु बेसहारा अवस्थामा परेको थियो ।
उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलका अनुसार बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम शिशुको तत्काल संरक्षणको व्यवस्था गरिएको हो ।
शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक हेरचाहको प्रबन्ध मिलाइएको नगरपालिकाले जनाएको छ ।
शिशुको दीर्घकालीन व्यवस्थापनका लागि नमूना बालगृहमा अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ ।
साथै, शिशुलाई छोड्ने व्यक्तिको खोजी गरी कानूनी प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जानकारी दिएको छ ।