arrow

अपराधको श्रृंखला

ओखलढुङ्गामा हत्याको शृङ्खला: एक महिनामा दुई दम्पतीको विभत्स हत्या, गाउँले त्रसित

लुटपाटपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
hatya-murder.jpg

काठमाडौँ ।  ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक महिनाको फरकमा दुईवटा दम्पतीको शृङ्खलाबद्ध हत्या भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। गत पुस १५ गते मगर दम्पतीको हत्या भएको घाउ निको नहुँदै गएराति फेरि बोहोरे टोलका वृद्ध राई दम्पतीको बीभत्स हत्या गरिएको छ।

पसल सञ्चालन गर्दै आएका ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, चन्द्रविक्रमको शव घरको दोस्रो तलाको कोठामा खाटमा सिरक ओढेको अवस्थामा र चन्द्रमायाको शव खाटको छेउ भुइँमा सोही अवस्थामा फेला परेको थियो।

आज बिहान ७:४० बजे घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी निशङ्खे र जिल्लाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। डीएसपी केसीले घटनास्थल सुरक्षित गरिएको र थप अनुसन्धानका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताए।

शृङ्खलाबद्ध हत्याले सुरक्षा चुनौती यसअघि पुस १५ गते भदौरेकै गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या भएको थियो। त्यसअघि असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवालको पनि हत्या गरिएको थियो। ती घटनाहरूमा संलग्न रहेको आरोपमा प्रहरीले मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेललाई पक्राउ गरी अनुसन्धान गरिरहेकै समयमा फेरि उस्तै प्रकृतिको अर्को हत्या भएको हो।

एउटै वडामा एक महिनाभित्र दुईवटा दम्पतीको हत्या भएपछि स्थानीयमा त्रास फैलिएको छ। स्थानीय बासिन्दाले सुरक्षा व्यवस्था फितलो भएको भन्दै दोषीलाई तत्काल पत्ता लगाई कडा कारबाही गर्न माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ