भन्सार नियमावली आजै मन्त्रिपरिषद् जाँदै: अर्थमन्त्रीले गरे ऐन कार्यान्वयनको प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
823
Shares
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नयाँ भन्सार ऐनलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजानका लागि सरकारले आवश्यक नियमावलीलाई अन्तिम रूप दिएको बताएका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नियमावली नभएकै कारण ऐनका व्यवस्थाहरू कार्यान्वयन हुन नसक्ने अवस्थाको अब अन्त्य हुने जानकारी दिए।
अर्थमन्त्री खनालले भन्सार नियमावली आजै साँझसम्म मन्त्रिपरिषद्मा पुग्ने र छिट्टै स्वीकृत हुने विश्वास दिलाए। "हामीले निजी क्षेत्रलाई सहज बनाउन नयाँ ऐन ल्याएका हौँ, केही ढिलाइ भए पनि अब नियमावली पारित भएपछि यसले गति लिनेछ," उनले भने। ऐनमा रहेको दण्ड र जरिवानाको व्यवस्था निकै चर्को भएको भनी निजी क्षेत्रबाट आइरहेको गुनासोप्रति टिप्पणी गर्दै उनले भने— "हाम्रो लक्ष्य दण्ड गर्ने होइन, निजी क्षेत्र र सरकार मिलेर यस्तो वातावरण बनाउनुपर्छ जहाँ कसैले दण्ड भोग्नै नपरोस्।"
आफूलाई 'निजी क्षेत्रमैत्री' अर्थमन्त्रीका रूपमा प्रस्तुत गर्दै खनालले भन्सार प्रशासनलाई आधुनिक र दक्ष बनाउन मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भन्सार सुधार रणनीतिलाई छिटो कार्यान्वयनमा ल्याई व्यापार सहजीकरणलाई प्राथमिकता दिइने समेत बताए।