नगद कारोबारको पाँच लाखे सीमाले व्यवसाय ठप्प, तत्काल संशोधनको माग
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
898
Shares
काठमाडौँ । सरकारले यही माघ १ गतेदेखि लागू गरेको नगद कारोबारको सीमा रु ५ लाख प्रति निजी क्षेत्रले कडा आपत्ति जनाउँदै यसलाई तत्काल संशोधन गर्न माग गरेको छ। अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रका नेतृत्वकर्ताहरूले यो व्यवस्थाले व्यावसायिक क्रियाकलाप र आर्थिक गतिविधिमा गम्भीर अवरोध सिर्जना गरेको बताएका हुन्।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका सबै क्षेत्रमा बैंकिङ पहुँच पुगिनसकेको अवस्थामा ५ लाखको सीमा अव्यवहारिक भएको तर्क गरे। उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’ को दबाबका कारण यस्तो निर्णय लिइएको हुन सक्ने अनुमान गर्दै लगानीको वातावरण सहज बनाउन नीतिगत संशोधन आवश्यक रहेको बताए।
त्यसैगरी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार ऐनमा रहेका दण्ड-जरिवानाका व्यवस्था कठोर र अव्यवहारिक भएको टिप्पणी गरे। उनले नेपाललाई ‘वेडिङ डेस्टिनेसन’ का रूपमा विकास गर्न वैवाहिक सामग्रीको भन्सारमा सहजीकरण गर्नुपर्ने र मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर कायम गर्नुपर्ने मागसमेत अघि सारे। व्यवसायीहरूले भन्सार प्रशासनलाई राजस्वमुखी मात्र नभई उद्योग–व्यवसाय प्रवर्द्धन गर्ने सहयोगी संयन्त्रका रूपमा विकास गर्न सरकारलाई आग्रह गरेका छन्।