arrow

अमेरिकी राज्यहरूमा आपतकाल घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
usa-10-12.jpg

काठमाडौँ । न्यूयोर्क सिटीसहित अमेरिकाको उत्तर-पूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ ।

शनिबार रातिदेखि शुरू भएको भारी हिमपातका कारण न्यूयोर्क र न्यू जर्सी राज्यले आपतकाल घोषणा गरेका छन् ।

न्यूयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरू सोमबारका लागि बन्द गरिएका छन् भने कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन हुने जनाइएको छ ।

न्यूयोर्कको सेन्ट्रल पार्क, म्यानहटनलगायतका क्षेत्रमा बाक्लो हिउँ जमेको छ । अत्यधिक चिसोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

तापक्रम शून्यभन्दा तल करिब माइनस १० डीग्री सेल्सियससम्म झरेको छ भने चिसो हावाका कारण अनुभूत तापक्रम माइनस १५ डीग्रीसम्म पुगेको छ ।

आइतबार साँझ ४ बजेपछि हिमपातको मात्रा केही घटे पनि पानी मिसिएको हिउँ सोमबारसम्म जारी रहने पूर्वानुमान गरिएको छ ।

न्यूयोर्क, न्यू जर्सी, म्यासाचुसेट्स, पेन्सिल्भेनिया, कनेक्टिकट र न्यू ह्याम्पशायरमा दैनिक जीवन कठिन बनेको छ ।

सडकमा हिउँ पगाल्न नुन छर्किने तथा सफाइ सवारीसाधनहरू दिनभर सञ्चालनमा रहे पनि आपतकालका कारण सवारीसाधन र मानिसहरूको आवागमन न्यून देखिएको छ ।

धेरै पसल तथा फास्ट-फुड सेवा पनि बन्द छन् ।

सरकारी अधिकारीहरूले आगामी एक हप्ता तापक्रम अझै घट्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन र न्यानो रहन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ