arrow

सेन्ट्रल पार्कदेखि म्यानहटनसम्म हिउँको पहाड: न्यूयोर्कमा जनजीवन अस्तव्यस्त

माइनस १५ डिग्रीसम्म पुग्यो ठिही, तीन जनाको मृत्यु, आपतकाल घोषणा र विद्यालयहरू बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
usa-city-snow.jpg

काठमाडौँ । अमेरिकाको न्यूयोर्क सिटीसहित उत्तर–पूर्वी क्षेत्रमा आइतबार आएको शक्तिशाली हिमआँधीले जनजीवन पूर्ण रूपमा प्रभावित बनाएको छ। शनिबार रातिदेखि नै सुरु भएको भारी हिमपातका कारण न्यूयोर्क र न्यू जर्सी राज्यमा आपतकाल घोषणा गरिएको छ भने सुरक्षालाई ध्यानमा राख्दै न्यूयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरू सोमबारका लागि भौतिक रूपमा बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ।

न्यूयोर्कको सेन्ट्रल पार्क र म्यानहटन जस्ता व्यस्त क्षेत्रहरू बाक्लो हिउँले ढकमक्क ढाकिएका छन्। यस भीषण प्राकृतिक प्रकोप र अत्यधिक चिसोका कारण हालसम्म कम्तीमा तीन जनाको ज्यान गएको पुष्टि भइसकेको छ। मौसम विभागका अनुसार तापक्रम शून्यभन्दा तल झरेर माइनस १० डिग्री सेल्सियस पुगेको छ भने चिसो हावाका कारण अनुभूत हुने तापक्रम माइनस १५ डिग्रीसम्म महसुस गरिएको छ।

आइतबार साँझपख हिमपातको तीव्रतामा केही कमी आए पनि सोमबारसम्म पानी मिसिएको हिउँ जारी रहने पूर्वानुमान गरिएको छ। हिमआँधीका कारण न्यूयोर्क, न्यू जर्सी, म्यासाचुसेट्स, पेन्सिल्भेनिया, कनेक्टिकट र न्यू ह्याम्पशायरमा दैनिक कामकाज निकै कठिन बनेको छ। 

सडकमा हिउँ पगाल्न नुन छर्किने र सफाइ गर्ने सवारीसाधनहरू निरन्तर परिचालन गरिए पनि आपतकालका कारण मानिस र सवारीको आवागमन निकै पातलो देखिएको छ। धेरैजसो व्यापारिक पसल र फास्ट–फुड सेवाहरू समेत बन्द रहेका छन्। सरकारी अधिकारीहरूले आगामी एक हप्तासम्म तापक्रम अझै घट्न सक्ने चेतावनी दिँदै नागरिकहरूलाई न्यानो भएर बस्न र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ