arrow

टाइगर कपमा पुलिसको विजयी शुरूआत, आर्मीको दोस्रो हार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
volleyball-tiger-cup.jpg

पोखरा । पोखरामा जारी छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले सुखद् शुरूआत गरेको छ । 

शनिबार भएको पहिलो खेलमा विभागीय टोली पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो । 

यो जितसँगै पुलिसले प्रतियोगितामा अंक जोड्न सफल भएको छ भने आर्मीले लगातार दोस्रो हार खेपेको छ ।

खेलको पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेर आर्मीले राम्रो शुरूआत गरे पनि त्यसपछिका सेटमा लय गुमाउन पुग्यो । 

पुलिसले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५-१७, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१३ ले आफ्नो पक्षमा पार्यो । खेलमा प्रभावशाली प्रदर्शन गरेकी पुलिसकी एलिसा मानन्धर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन भइरहेको यो च्याम्पियनसिप माघ १७ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोलीले सहभागिता जनाएका छन् । 

सिंगल राउन्ड रोबिनका आधारमा भइरहेको यस खेल तालिकामा शीर्ष दुईमा रहने टोलीहरूले उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गर्ने छन् ।

शनिबारै हुने अन्य खेलको तालिका अनुसार महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब र थाइल्यान्ड क्विन्सबीच प्रतिस्पर्धा हुनेछ । 

यस्तै, पुरुषतर्फको पहिलो खेलमा गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएसन आमनेसामने हुनेछन् ।

यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।

पुरुषतर्फकै अर्को खेलमा नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ