सरकारले निर्वाचनमा जाने वातावरण बनाएन : विप्लव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
871
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाएका छन् ।
शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले आफूहरू चुनावमा जाने तयारी गरिरहँदा सरकारले कम्युनमा छापा मारेर गम्भीर षडयन्त्र गरेको आरोपसमेत लगाए।
काठमाडौँमा हराएका हतियार फेला पार्न नसक्ने सरकारले आफ्नो पार्टीका कम्युनमा प्रहरी परिचालन गरेर बहादुरी प्रदर्शन गरेको उनको भनाइ छ ।
राज्यले आफूहरूको कम्युनमा बम रहेको भन्ने गलत प्रचार गरेर पार्टीको बदनामी गरेको उनले बताए। यो सबै साम्राज्यवादको इशारामा दलाल शक्तिहरूले चालिएको षड्यन्त्र भएको उनको दाबी छ ।
उनले भने, ‘अहिले पनि राज्यले हामीलाई चुनावमा जाने वातावरण त बनाएन त ? बनाएन नि त । नेकपा माओवादी सर्लक्क जाने वातावरण बनायो त ? हामी दर्ता गर्दैछौँ पार्टी, हामी समानुपातिकको दर्ता गर्दैछौँ । हामी पार्टी दर्ता गर्दैछौँ । तर हाम्रो कम्युनमा किन गएको ? सुशीलाको सरकारले बोल्नु पर्दैन । काठमाडौँमा हराएको हतियार खै ? काठमाडौँमा आजकल चोकमा हेर्नुभयो भने पुलिस विना हतियार त्यतिकै टेक्ने लठ्ठी पनि छैन । तिनले केही रोक्दा पनि रोक्दैनन्, आजकल पुलिसहरु यति डेमोरलाइज छ कि चोकमा फिलिलि हिँडिरहेको छ, मान्छेहरू । यहाँ यस्तो हालत छ, तर यो राज्यको पुलिसलाई हाम्रो कम्युनमा किन पठाएको ? यो के साँचैको गम्भिर प्रश्न होईन ? मान्छेले के भने भने तपाईहरुको आलू होईन बम फल्यो रे ! बम फल्यो कि आलू फल्यो हेर्न त्यसलाई कसले भन्यो, अहिले ? हाम्रो कम्युनमा के फल्छ भन्ने त्यसलाई के चासो ? काठमाडौँमा आफ्नो हराएको हतियार खोज्न नसक्ने सरकारलाई हाम्रो कम्युनमा के भईरहेको छ, भन्ने कुरा गर्न मिल्छ ? यो साम्राज्यवादको ईशारामा दलालहरुले चालेको षडयन्त्र होईन यो ?’
उनले सिंगो पार्टी निर्वाचनमा भाग लिने तयारीमा रहेको भए पनि राज्यको व्यवहारकै कारण त्यो सम्भावना नरहेको बताए ।
उनले निर्वाचन र आन्दोलन दुबैको माध्यमबाट आफूहरूको रणनीति रहेको उल्लेख गरे ।
सोहीअनुसार पार्टी सरकारले निर्वाचनको वातावरण नबनाए पनि फागुन २१ गते हुने निर्वाचनको लागि सहभागी भएको बताए ।