काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता वालेन्द्र साह बालेन चुनावी अभियानका क्रममा शनिबार तेह्रथुम पुगेका छन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका साहले तेह्रथुमको म्याङ्लुङस्थित प्रसिद्ध देवीथान मन्दिर परिसरमा स्थानीय मतदाताहरूसँग भेटघाट र अन्तरक्रिया गरे।
स्थानीयसँगको कुराकानीमा साहले तेह्रथुमलाई केवल कागज वा पुस्तकबाट नभई प्रत्यक्ष अनुभव गरेर बुझ्न आफू यहाँ आएको बताए। “तेह्रथुमको बारेमा विकिपिडियामा पढ्न वा किताबबाट बुझ्न सकिन्छ, तर यहीँको हावापानीमा भिजेर, माटोमा बसेर र मान्छेहरूलाई भेटेपछि मात्र वास्तविक अवस्था थाहा हुन्छ,” उनले भने। भोलि संसदमा तेह्रथुमका समस्या उठाउँदा आफूलाई ती विषयको गहिरो बोध होस् भन्ने उद्देश्यले यो भ्रमण गरेको उनले स्पष्ट पारे।
नेता साहले रास्वपाको नेतृत्व इन्जिनियरिङ पृष्ठभूमिका व्यक्तिहरूले गरेको उल्लेख गर्दै ठूला र काल्पनिक कुराभन्दा पनि स्थानीय स्तरमा सम्भव हुने व्यावहारिक कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले भने, “तेह्रथुममा कृषि उत्पादन निकै राम्रो छ, तर यहाँको मुख्य समस्या बजारको देखिएको छ, हामी त्यसको समाधानमा केन्द्रित हुनुपर्छ।”
भेटघाट कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीको पनि उपस्थिति थियो। झापा–५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा रहेका साह यतिबेला पूर्वी नेपालका पहाडी जिल्लाहरूमा चुनावी अभियान तीव्र पारिरहेका छन्। यसअघि उनले इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न स्थानमा पुगेर मतदातासँग संवाद गरिसकेका छन्।