यतिबेला २१ फागुन गते हुन गइरहेको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको पहिलो हुने निर्वाचित हुने निर्वाचनको सरगर्मी बढिरहेको छ । विगतका निर्वाचनहरूमा जस्तै विभिन्न राजनीतिक दलहरूका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन भनेको लोकतन्त्रका विभिन्न सुन्दर पक्षहरू मध्येको एउटा हो । नेपालको संविधान अनुसार सार्वभौम जनतामा आफूले चाहेको प्रतिनिधिलाई निर्वाचन मार्फत रोज्न पाउने अधिकार हुन्छ । संघीय प्रतिनिधि भनेका देशका ऐन कानून बनाउने र जनताको प्रत्यक्ष सरोकारसँग नजोडिने भएपनि हाम्रो जस्तो विकासोन्मुख र लोकतन्त्र परिपक्व नभएको मुलुकमा यिनीहरूबाट जनताहरू आशावादी हुनुपर्ने अवस्था नै छ।
नेपाल जस्तो विकासोन्मुख देशमा जनताले आफ्ना आधारभूत आवश्यकताहरू गास,बास, कपास शिक्षा,स्वास्थ्य,रोजगार,शान्ति, सुरक्षा आदिदेखि लिएर पूर्वाधार र सामाजिक, आर्थिक विकास र निर्माणका आशा संघीय प्रतिनिधिसँग राखेका हुन्छन् ।
आज प्रजातन्त्र पुन:बहाली भएको छत्तीस वर्ष बितिसक्दा पनि नेपाली जनताको जीवन स्तरमा खासै गुणात्मक र परिमाणात्मक परिवर्तन नहुँदा उम्मेदवारहरूसँग जनताका पुराना मागहरू नै यथावत् छन् । नेपाली जनताका त्यही पुराना भ्रष्टाचारमुक्त, रोजगारयुक्त, सुशासनयुक्त र समृद्ध देशको माग नै छ । नेपाली जनताले यस निर्वाचनबाट पनि इमान्दार,सक्षम, कुशल, नैतिकवान, जिम्मेवार, उत्तरदायी प्रतिनिधि खोजिरहेका छन् ।
नेपालको इतिहासमा विगतमा संघीय संसदको प्रतिनिधि सभामा अत्यन्तै लाजैलाग्दा घटनाहरू पनि घटेका छन् । सांसद किनबेचदेखि पुरुष सांसदले सुत्केरी भत्ता बुझ्नेसम्मका क्रियाकलाप पनि भए । पछिल्लो समयमा त सांसदहरूले संसदमा पेश भएको विधेयकलाई नपढी ढ्यापढ्याप गरी पाससमेत गरे । विगतका विभिन्न घटनाहरूलाई केलाउँदा केही जनप्रतिनिधिहरूमा नैतिकता, इमान्दारिता, जवाफदेहिता, उत्तरदायित्व भन्ने नै देखिएन ।
प्रतिनिधिहरू जनतासँग मत माग्दा अनेक किसिमका आश्वासनका पोकाहरू बाड्ने तर संसद र सत्तामा पुगेपछि अत्यन्तै फोहोरी खेल खेल्ने प्रवृत्ति निरन्तर दोहोरिरहेको छ।कतिपय क्षेत्रमा एउटै व्यक्ति लगातार आठौँ पटकसम्म उम्मेदवार र पाँच पटक निर्वाचित हुँदा समेत अहिले पनि त्यही पुरानो अनुहार लिएर देखा परेका छन् । यस्तो बेला नेपाली जनताहरू निकै सतर्क र विवेक पुर्याएर मतदान गर्नुपर्ने देखिन्छ ।
पञ्चायतकालदेखि अहिलेसम्म निरन्तर उम्मेदवार र प्रतिनिधि हुँदा तिनीहरूले गर्न नसकेको अब गर्छन् भनेर विश्वास गर्ने कुनै आधार नै छैन । ती उम्मेदवारहरू त उमेर र स्वास्थ्यको दृष्टिले पनि अशक्त छन्, अब त्यस्तालाई पनि निर्वाचित गराएर नेपाली जनताको आमूल परिवर्तनको आशा कदापि पूरा हुन सक्दैन । अहिले नै पनि कतिपय उम्मेदवारहरू गाउँगाउँमा गएर जनताका अगाडि अनेक प्रलोभन बाँडेर चटकी देखाइरहेका पनि छन् । ती पात्रहरूदेखि निकै सावधान हुनु पर्नेछ।
२१ फागुन २०८२ को निर्वाचनको लागि ६८ वटा राजनीति दलका दुईहजार २९७ र स्वतन्त्रसहित जम्मा तीन हजार ४४७ उम्मेदवारहरूले मनोनयन दर्ता गरी चुनावी मैदानमा देखिएका छन् । यतिबेला यी नयाँ र पुराना उम्मेदवारहरूको चरित्र र अनुहारलाई राम्रोसँग अध्ययन गरी विवेक पुर्याएर मतदान गर्नुपर्ने हुन्छ । मतदाताले कुनै उम्मेदवारलाई मतदान गर्नु पहिले उसको राजनीतिक इतिहास,सामाजिक छवि र व्यवहार,नैतिक आचरण, अनुभव,योग्यता, क्षमता, अनुशासन आदि थुप्रै कुरालाई ध्यान दिनुपर्छ।
कस्तो व्यक्ति उम्मेदवार बन्न सक्छ भन्ने सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ मा स्पष्ट पारेको छ। कानून विपरीत त निर्वाचन आयोगले उम्मेदवार बन्नै दिँदैन । कानूनी व्यवधान बाहेक उम्मेदवारहरूमा खोज्नु पर्ने एउटा महत्त्वपूर्ण विशेषता भनेको नैतिकता हो । आज नेपाली राजनीतिमा नैतिकतामाथि ठूलो प्रश्न उठिरहेको छ । राजनीति सेवा बन्नु पर्नेमा पेशा बनिरहेको छ ।
यहाँ राजनीति रहर र लहड बनेको छ।राजनीति गर्न राजनीतिक चरित्र नै चाहिन्छ।लोकप्रियता र लहडले राजनीतिमा स्थायित्व हुँदैन।आज विश्वका कतिपय मुलुकमा विभिन्न क्षेत्रका सेलिब्रेटिहरू लहडले राजनीतिमा प्रवेश गर्दा देश नै डुब्ने अवस्थामा पुगेका छन् । कुनै अर्को क्षेत्रमा योग्य र सफल भएको पात्र राजनीतिमा पनि सफल नै हुन्छ भन्न सकिन्न ।
भीड, लहड र सनकले राजनीति थप अस्थिर बन्छ । सम्पूर्ण नीतिहरूको केन्द्र भनेको राजनीति हो। देशको राजनीति खराब हुँदा देशका सम्पूर्ण अङ्ग र संरचनाहरूहरू खराब हुन्छन् । नेपाली राजनीतिभित्र पनि अनैतिकता,व्यभिचार,नातावाद, भ्रष्टाचार थुप्रिएका कारण नेपाल जहिले पनि अस्थिर बनिरहेको छ । अहिलेको यो राजनीतिक अस्थिरतालाई अन्त्य गर्न इमान्दार,नैतिकवान,योग्य र कुशल जनप्रतिनिधि चाहिएको छ। अबको निर्वाचनमा यस्ता जनप्रतिनिधिहरूलाई रोजौँ कि जसले अहिलेसम्मको सबै किसिमका फोहरलाई मिल्काउन सकुन् ।
जनप्रतिनिधिमा हुनुपर्ने एउटा महत्त्वपूर्ण विशेषता भनेको नैतिकता हो।नैतिकता भनेको व्यक्तिको नीतिमा आधारित आचरण हो।नैतिकता भनेको विवेक,सदाचार,सामाजिक नियम र मर्यादालाई पालन गर्नु हो।नैतिकता भनेको सही र गलत छुट्याउने चेतना पनि हो।नैतिकताका कतिपय कुराहरू समुदायले निर्धारण गरेका हुन्छन् ;संविधान र कानूनमा व्याख्या गरिएका हुन्नन् ।
म कानूनलाई मात्र मान्छु,अरुलाई मान्दिनँ भनेर सामाजिक,नैतिक बन्न सकिन्न अनि विश्वास र सहारा पाउन पनि सकिन्न । व्यक्तिको व्यक्तित्व निर्माण गर्न नैतिकता एक महत्त्वपूर्ण पक्ष हो । राजनीतिको एउटा अभिन्न अङ्ग नैतिकता हो । नैतिकता नै नभएको व्यक्तिले राजनीति गर्न सक्दैन । अहिले नेपाली राजनीतिमा नैतिकता र विश्वासको यति ठूलो सङ्कट परिरहेको छ कि कसैलाई विश्वास गर्न सक्ने अवस्था नै छैन । यसपालि पनि अनेक बहानाबाजी गरेर पुरानै तरिकाले ती असफल र अयोग्य पात्रहरू देखिएका छन् । यस्तो बेलामा ती खराबहरूलाई दण्ड दिनुपर्छ र नयाँ उम्मेदवारहरूलाई पनि उनीहरूको पृष्ठभूमि,योगदान,नैतिकता,परिपक्वता जाँचेर मात्र मतदान गर्नुपर्छ।
अहिले हुन थालेको निर्वाचन २०७९ को जस्तो नियमित आवधिक निर्वाचन होइन।भदौ २३ र २४ गते जेनजी आन्दोलन र विद्रोहको परिणामले निम्त्याएको नयाँ परिस्थितिका कारण आकस्मिक रुपमा हुन थालेको निर्वाचन हो । भदौ २३ र २४ को घटनाले दिन खोजेको सन्देशलाई स्मरण गरेर मतदान गर्नुपर्छ । यो निर्वाचनलाई पनि परम्परित जस्तो तरिकाले प्रयोग गरियो भने परिणाम नयाँ आउँदैन । ती शहीदहरूका सपना र शहीद परिवारका आँसु पुछ्न मतदान गर्ने बेलामा निकै सोच्नुपर्छ । वास्तवमा अर्कोलाई दोष लगाउनु भन्दा आँखा चिम्लेर मतदान गर्ने हामी नेपालीहरूको परम्परित शैलीलाई परिवर्तन गर्नुपर्छ।पुरानै बाटो र शैली अपनाएर नयाँ प्राप्ति हुँदैन।नयाँ प्राप्तिको लागि मत बदल्नै पर्छ ।
यसपालि पनि चुनावी मैदानमा दागी,आरोपित र विवादित थुप्रै पात्रहरू देखिएका छन्।जेनजी आन्दोलनपछि विशेष परिस्थितिका कारण छ महिनाको लागि भनेर बनेको नागरिक सरकारका चारजना मन्त्रीहरू नै आफ्नो कार्यकाल पूरा नगरी निर्वाचनमा प्रत्याशी बनेका छन् । देशको यस्तो संवेदनशील,जटिल र तरल अवस्थामा निर्वाचन सम्पन्न गराएर नयाँ सरकार निर्माण गरी सत्ता हस्तान्तरण गरी स्वाभाविक रुपमा बाहिरिनु पर्नेमा सनकका आधारमा राजीनामा दिएर उम्मेदवार बनेकालाई अब जनताको आशा अनुरुपको काम गर्न सक्छन् भनेर कसरी विश्वास गर्न सकिन्छ र ?
प्रधानमन्त्री र मन्त्रीहरूले आआफ्नो जिम्मेवारी र उत्तरदायित्व पूरा नगरी यस्तै सनकमा नैतिकता र विवेक गुमाएर राजीनामा दिँदै जाने हो भने देशको अवस्था के हुन्छ?हुनत नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीले नै पनि यस्तै सनकमा पटकपटक संसद विघटन गरेका घटना पनि छन् । ती सनकीहरू पनि चुनावी मैदानमा छन्।कानूनी अधिकार छ भन्दैमा जिम्मेवार व्यक्तिले जतिबेला पनि पदबाट राजीनामा दिनु भनेको विश्वास र नैतिकता गुमाउनु होइन र ?
आज एकाएक मन्त्रीहरूले राजीनामा दिँदा नेपाल सरकारको दैनिक कार्य सञ्चालनमा परेको अप्ठ्यारो र समस्याको बारेमा जवाफदेही ती राजीनामा दिएका निवर्तमान मन्त्रीहरू हुनुपर्दैन?देशको यो क्षति कसले बेहोर्छ?जनतासँग र मिडियामा आएर मिठा र चिप्ला कुरा गरेर यिनीहरूलाई विश्वास गर्ने अवस्था छैन। आम मतदाताले चुनावी मैदानमा उत्रिएका यी पात्रका बारेमा निकै विचार पुर्याउनुपर्ने देखिन्छ।यस्ता लोकप्रियवादी र अवसरवादीहरूले जनतालाई जतिबेला पनि धोका दिन सक्छन्।
देशभरिबाट १३ जना प्रदेशसभा सदस्य र १४ जना स्थानीय तहका जनप्रतिनिधिहरू नै कार्यकाल पूरा नगरी राजीनामा दिएर संघीय प्रतिनिधिको लागि उम्मेदवार बनेका छन्।यसले नेपालको संघीयताका बारेमा प्रश्न उठाउँदैन र ? संविधानमा देशलाई संघीयता बनाएर सिंहदरवारको अधिकार गाउँमा लैजाने भन्ने तर स्थानीय जनप्रतिनिधि नै गाउँ छोडेर सिंहदरवार ताक्नुले संघीयता थप कमजोर बन्दैछ भन्ने कुरा स्पष्ट पार्दछ।पाँचवर्ष कार्यकाल रहेका प्रदेश वा स्थानीयतहका प्रतिनिधिहरू सनकका आधारमा राजीनामा दिँदै पुनःजनतामा जाँदा तिनलाई के आधारमा मत दिन सकिन्छ र ?
यस्ता पात्रका बारेमा निकै गम्भीर भएर सोच्नुपर्छ।आज नै पनि स्थानीय जनतासँग विभिन्न घटना,परिवेश र सम्बन्धसित जोडिएका ती प्रतिनिधिहरू बिचैमा छोडेर जाँदा जनताका दैनिकीसँग जोडिएका थुप्रै कामहरू अवरोध भएका छन्।राजीनामा दिएर खाली भएका ठाउँमा पुन:निर्वाचन गराउँदा देशलाई थप आर्थिक व्ययभार बेहोर्नुपर्ने हुन्छ।के यस्ता कुराहरूमा ती जनप्रतिनिधिहरू जवाफदेही र जिम्मेवार हुनुपर्दैन ? कानूनले रोक्दैन भनेर जनतालाई अभिभावक विहीन बनाएर बिचमा नै चटक्कै छोडेर धोका दिनेलाई के आधारमा फेरि मत दिने ? यस्ता चरित्र र प्रवृत्तिहरूले फेरि पनि धोका नदेलान् भन्न सकिन्न,त्यसकारण यस कुरामा विचार पुर्याऊँ ।
लोकतन्त्रमा स्वतन्त्रता छ भनेर जसले जे गर्न पाइन्न।राजनीतिक पात्रमा चेतना,अस्तित्व,इमान्दारिता,निष्ठा,विचार,विवेक,अनुशासन, कुशलता आदि गुणहरू हुनुपर्छ।कुनै राजनीतिक दलको सदस्य बन्नु भनेको निश्चित विचारबाट निर्देशित हुनु पनि हो । जब मान्छेले विवेक,अनुशासन,नैतिकता गुमाउँछ अनि त्यतिबेला उसको अस्तित्व माथि नै प्रश्न उठ्छ।यसपालिको चुनावी मैदानमा अत्यन्तै निकृष्ट,घृणित र फोहरी राजनीतिक खेलाडीहरू देखिएका छन् ।
एकाएक दल बदल्ने,पटकपटक उम्मेदवार बन्ने,पुरानो क्षेत्र असुरक्षित ठानी अनेक बहानाबाजी गरेर नयाँ क्षेत्रमा भगौडा बनेर जाने प्रवृत्ति देखिएको छ। भदौ २३ र २४ को त्यति ठूलो विद्रोहबाट कतिपय पुराना दल भन्नेहरूले अझै पनि शिक्षा प्राप्त गर्न नसकेको देखिन्छ । किन दलहरूले एउटै पात्रलाई ठाउँ सारी सारी अवसर प्रदान गरिरहेका छन् ?तिनीहरूमा के त्यस्तो अद्भूत शक्ति छ र ?
त्यो अद्भुत शक्ति नै थियो भने खै त ३६ वर्षसम्म प्रयोग गरेको?के ती दलमा ती पात्रभन्दा अरुले राजनीति गर्न जान्दैनन् वा सक्दैनन् ? ती दलहरूले अर्को व्यक्ति वा पुस्तालाई अवसर किन नदिने?सरकार र राजनीति दलमा देखिएको विकृतिका कारणले भदौ २४ को त्यति ठूलो विध्वंश भएको होइन र ? यस बारेमा सम्बन्धित दल र तिनका नेतृत्वहरू किन आँखा चिम्लिरहेका छन् ?
ती बारम्बार अवसर पाएका, भ्रष्टाचारमा चुर्लुम्म डुबेका,राजनीतिक दललाई व्यक्तिगत कम्पनी बनाएका,सत्ताभन्दा अरु सोच्दै नसोच्ने,नातावाद र कृपावादमा रमाउनेलाई अब फेरि पनि मत दिनु हुँदैन । यो निकै संवेदनशील समय हो, यस्तो बेलामा पनि सोचिएन भने देशले फेरि अर्को सङ्कट बेहोर्न सक्छ । सम्पूर्ण मतदाताले प्रतिनिधि चयन गर्ने बेलामा निकै सोचेर नैतिकवान र सक्षम उम्मेदवारलाई मतदान गरौँ । हाम्रो एक मत भनेको समुन्नत देश बनाउनको लागि निर्णायक आधार हुन सक्छ ।