रौतहट । रौतहटको राजदेवी नगरपालिकामा दुईटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई युवकको ज्यान गएको छ ।
शुक्रबार बिहान करिब ११ः४० बजेको समयमा राजदेवी नगरपालिका वडा नं. १ स्थित पथरा स्कुल नजिकै गौर-पिपरा भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो ।
गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२-०३-०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको द्यच्३०ब्ँ २३७० नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले दिउँसो १२ः०० बजे दुवैलाई मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिष्णु प्रदीप बस्यालका अनुसार मृत्यु हुनेमा रौतहट दुर्गा भगवती गाउँपालिका वडा नं. २ पिपरा बजार ३० वर्षीय अशोक महतो र रौतहट राजदेवी नगरपालिका वडा नं. २, हजमिनिया का २९ वर्षीय अरबिन्द महतो छन ।
यस घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।