आफ्नो पार्टीसँग एकता गर्न एमालेलाई प्रचण्डको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
3.4k
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकलाई विद्यमान सङ्कटबाट जोगाउन नेकपा (एमाले) लाई आफ्नो पार्टीसँग एकता गर्न औपचारिक आह्वान गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय शक्ति निर्माणको महाअभियानमा सामेल हुन एमालेलाई अपिल गरेका हुन्। उनले राष्ट्रभन्दा ठूलो अरु केही नभएको उल्लेख गर्दै वामपन्थी र कम्युनिष्टहरूको एकताले मात्रै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न सक्ने दाबी गरे।
संयोजक दाहालले मुलुकमा प्रतिक्रियावादीहरूको चलखेल बढ्दै गएको र त्यसलाई रोक्न सबै देशभक्त एवं लोकतन्त्रवादीहरू एकै मोर्चामा आउनुको विकल्प नभएको बताए। उनले आफ्नो पार्टी र माधवकुमार नेपाल नेतृत्वको शक्तिबीचको एकताले अब देशकै 'नम्बर एक' पार्टी बन्ने विश्वास समेत व्यक्त गरे। "ओखलढुङ्गाले सिङ्गै राष्ट्रलाई एकताको सन्देश दिँदैछ, अब हामी सबै मिलेर अघि बढ्नुपर्छ," उनले भने।
मुलुकको पछिल्लो राजनीतिक निकासका सन्दर्भमा बोल्दै दाहालले गत भदौ २६ गते रातभरको छलफलपछि आफू र माधवकुमार नेपालको दृढ अडानकै कारण अन्तरिम सरकार र नयाँ निर्वाचनको बाटो तय भएको स्मरण गरे। संसद पुनस्र्थापनाको विकल्प आए पनि निर्वाचनले मात्रै राजनीतिक सहजता ल्याउने निष्कर्षमा आफूहरू पुगेको र आज सिंगो राष्ट्र निर्वाचनमय हुनुमा आफूलाई गर्व लागेको उनले बताए। यद्यपि, मुलुकमा अझै दुर्घटनाको खतरा टिनसकेको भन्दै उनले बलियो राष्ट्रिय शक्ति र जनताको दह्रो एकता नभए फेरि पनि समस्या आउन सक्ने चेतावनी दिए।