झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ ओटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका दुई सय ८५ मतदानस्थलमध्ये एक सय ४७ सम्वेदनशील र ४३ ओटा मतदानस्थल सामान्य रहेका उनले जानकारी दिए ।
जिल्लामा आठ सय १५ ओटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनले बताए ।
प्रजिअ गेलालले क्षेत्र नं ५ मा सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि प्रदेशसँग थप सुरक्षाकर्मी माग गरिएको जानकारी दिए ।
पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँच जना प्रतिनिधिसभा प्रतिनिधि निर्वाचित हुने र यसका लागि झापामा सात लाख १३ हजार ५३७ जनाले मतदान गर्नेछन् । रासस