एक लाख ६३ हजार मतदाताको मन जित्न ओली र बालेनको कसरत
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
1.5k
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लामा मतदाताको अन्तिम नामावली टुङ्गो लागेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेका छन्।
यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लाभर कुल मतदाताको सङ्ख्या सात लाख १३ हजार ५३७ पुगेको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार क्षेत्र नम्बर ५ मा मात्र एक लाख ६३ हजार ३७९ मतदाता छन्, जसमा ८१ हजार ८१ पुरुष र ८२ हजार २९६ महिला रहेका छन्। यस क्षेत्रमा मतदानका लागि ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ।
निर्वाचन क्षेत्र नम्बर ५ यसपटक देशभरकै सबैभन्दा बढी चर्चा र चासोको केन्द्र बनेको छ, जहाँ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र शाह (बालेन) बीचको सिधा प्रतिस्पर्धा हुँदैछ।
ओलीको पुरानो गढ मानिने यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका बालेनको उम्मेदवारीले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ। दुई प्रभावशाली व्यक्तित्वहरू बीचको यो ‘हेभीवेट’ भिडन्तले गर्दा झापा-५ को चुनावी नतिजालाई निकै महत्त्वका साथ हेरिएको छ।
जिल्लाका अन्य क्षेत्रहरूको अवस्था हेर्दा क्षेत्र नम्बर २ मा एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् भने यहाँ ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र तोकिएको छ। त्यस्तै, क्षेत्र नम्बर ४ मा एक लाख ३० हजार ७१२ र क्षेत्र नम्बर ३ मा एक लाख १० हजार ८५७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। जिल्लाकै सबैभन्दा कम मतदाता रहेको क्षेत्र नम्बर १ मा एक लाख ३१ हजार ६७ मतदाता रहेका छन्।
झापाका पाँचवटै निर्वाचन क्षेत्रमा गरी कुल २८३ वटा मतदानस्थल र ८१५ वटा मतदान केन्द्रहरू कायम गरिएका छन्। निर्वाचन कार्यालयले मतदान प्रक्रियालाई सहज, निष्पक्ष र सुरक्षित बनाउन आवश्यक जनशक्ति र निर्वाचन सामग्री व्यवस्थापनको कार्यलाई तीव्र पारेको छ।