मुगुमा त्रिपक्षीय भिडन्त: पहिलो अनुभव बटुल्दै खड्ग र पूर्ण, विरासत जोगाउने दाउमा चन्द्रबहादुर
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
935
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला मुगुमा चुनावी सरगर्मी बढेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सातवटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराए पनि यहाँ मुख्यतया तीन शक्तिबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाली कांग्रेसका खड्गबहादुर शाही, नेकपा (एमाले) का पूर्णबहादुर रोकाया र माओवादी केन्द्र तथा एकीकृत समाजवादीको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीका चन्द्रबहादुर शाही चुनावी मैदानमा उत्रिएसँगै मुगुको भिडन्त रोचक मोडमा पुगेको हो। मतदाताको अङ्कगणित अनुसार कांग्रेस र एमाले बलिया देखिए पनि कम्युनिष्ट एकताले चुनावी समीकरणलाई त्रिपक्षीय बनाएको छ।
जिल्लाका चार स्थानीय तहबाट विभिन्न उम्मेदवारहरू प्रतिनिधित्व गर्दै चुनावी मैदानमा होमिएका छन्। खत्याड गाउँपालिकाबाट कांग्रेसका खड्गबहादुर शाहीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमाटा र नेकपा (माओवादी) का रङ्गवीर परियार प्रतिस्पर्धामा छन्।
त्यस्तै, सोरु गाउँपालिकाबाट नेपाली कम्युनिष्ट पार्टीका चन्द्रबहादुर शाही र राप्रपाका बलबहादुर मल्लले उम्मेदवारी दिएका छन्। छायाँनाथ रारा नगरपालिकाबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्ल र मुगुम कार्मारोङ गाउँपालिकाबाट एमालेका पूर्णबहादुर रोकाया उम्मेदवार बनेका छन्। यी उम्मेदवारहरूमध्ये खड्गबहादुर शाही र पूर्णबहादुर रोकाया पहिलोपटक प्रतिनिधिसभाको यात्रा तय गर्ने दाउमा छन् भने चन्द्रबहादुर शाही २०५६ सालको संसदीय निर्वाचन र २०७४ को प्रदेशसभा जितेका अनुभवी खेलाडीका रूपमा चिनिन्छन्।
मुगुको यस निर्वाचनमा समावेशीताको पाटो भने निकै कमजोर देखिएको छ। जिल्लाभरबाट सातजना उम्मेदवार मैदानमा उत्रिँदा कुनै पनि दलले महिलालाई प्राथमिकता नदिएपछि महिला उम्मेदवारको सङ्ख्या शून्य भएको छ।
निर्वाचन कार्यालयका अनुसार जिल्लाका कूल ३६ हजार ३१ मतदाताले आफ्ना प्रतिनिधि छान्न ६७ मतदान स्थल र ७९ मतदान केन्द्रबाट मतदान गर्नेछन्। विगतका निर्वाचनमा एमाले र कांग्रेसको मुख्य वर्चस्व रहने गरेको मुगुमा यसपटक कम्युनिष्ट शक्तिहरूको ध्रुवीकरणले नतिजा कसको पक्षमा जान्छ भन्ने कुरा निकै प्रतिक्षाको विषय बनेको छ।