नाटो प्रमुखसँगको वार्तापछि युरोपेली राष्ट्रमाथिको कर स्थगित
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
2k
Shares
काठमाडौँ । स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक फोरममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डसम्बन्धी आफ्नो पूर्ववत् कडा अडानमा नाटकीय परिवर्तन गरेपछि युरोपेली मुलुकहरूले ठूलो राहत महसुस गरेका छन्। एक दिनअघि मात्रै ग्रीनल्याण्डको मुद्दालाई लिएर आठ युरोपेली राष्ट्रमाथि अतिरिक्त व्यापारिक शुल्क लगाउने धम्की दिएका ट्रम्पले अचानक आफ्नो बोली फेर्दै सकारात्मक सङ्केत दिएका हुन्।
राष्ट्रपति ट्रम्पले अब ग्रीनल्याण्ड प्राप्त गर्नका लागि कुनै पनि प्रकारको सैन्य बल प्रयोग नगर्ने र आर्कटिक क्षेत्रको सुरक्षाका सम्बन्धमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सँगको सहकार्यमा नयाँ सुरक्षा ढाँचा तयार गर्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि, यो नयाँ समझदारीको वास्तविक स्वरूप र यसले पार्ने दीर्घकालीन प्रभावबारे धेरै प्रश्नहरू अझै अनुत्तरित नै रहेका छन्।
यसै सन्दर्भमा डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले आफ्नो देशको सार्वभौमसत्ता र ग्रीनल्याण्डको स्वामित्वबारे कुनै पनि प्रकारको वार्ता असम्भव रहेको कुरालाई पुनः स्पष्ट पारेकी छन्। अमेरिकी पक्षले बल प्रयोग नगर्ने र नाटोसँग सहकार्य गर्ने बताए पनि ग्रीनल्याण्ड नै हस्तान्तरण गर्ने खालको कुनै पनि औपचारिक प्रस्ताव आफ्नो जानकारीमा नरहेको उनले बताएकी छन्।
उनले आर्कटिक क्षेत्रको सुरक्षा सम्पूर्ण नाटो सदस्य राष्ट्रहरूको साझा चासोको विषय भएको उल्लेख गर्दै यसबारे अमेरिकी राष्ट्रपति र नाटो महासचिव मार्क रुटबीच छलफल हुनुलाई स्वाभाविक प्रक्रियाका रूपमा लिएकी छन्। प्रधानमन्त्री फ्रेडरिक्सनले डाभोसमा राष्ट्रपति ट्रम्पसँगको भेटघाटअघि र पछि समेत नाटो महासचिव रुटसँग आफू निरन्तर संवादमा रहेको जानकारी दिएकी छन्।
डाभोसकै एक विशेष कार्यक्रममा अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति ट्रम्पले युद्धग्रस्त युक्रेनको अर्थतन्त्र र उद्योगको पुनर्निर्माणका लागि 'शुल्कमुक्त क्षेत्र' (ट्यारिफ–फ्री जोन) को अवधारणा अघि सार्न खोजेको खुलासा गरेका छन्। विटकफका अनुसार यो योजना कार्यान्वयनमा आएमा युक्रेनको धराशयी भएको आर्थिक अवस्था सुधार्न यसले 'गेम चेन्जर' को भूमिका खेल्नेछ।
रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति सम्झौताको पहल गरिरहेका विटकफले मस्को र अबुधाबीको भ्रमण गर्नुअघि यस्तो टिप्पणी गरेका हुन्। डाभोसमा उपस्थित युरोपेली प्रतिनिधिहरूले ट्रम्पको पछिल्लो लचिलो अभिव्यक्तिले तत्कालका लागि ट्रान्स–अटलान्टिक तनाव कम गरेको प्रतिक्रिया दिएका छन्। विश्लेषकहरूका अनुसार ट्रम्पको अडान परिवर्तनले तत्कालको सङ्कट टारेको देखिए पनि आर्कटिक सुरक्षा र युरोपसँगको व्यापारिक सम्बन्धमा यसको स्थायी प्रभाव कस्तो रहन्छ भन्ने कुरा भविष्यकै गर्भमा छ।