arrow

बालेन लक्षित ओलीको कटाक्ष: बैंकले त धितोबिना नोट छाप्दैन, तपाईंहरू जमानी नभएकालाई भोट हाल्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
oli-at-jhapa.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा धितो र जमानी नभएका अर्थात् राजनीतिक पहिचान र धरातल नभएका उम्मेदवारलाई मतदान गरेर आफ्नो अमूल्य मत खेर नफाल्न मतदाताहरूसँग आग्रह गरे। 

झापामा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकले समेत नोट छाप्दा धितो खोज्ने उदाहरण दिँदै नचिनेका र नजानेका मान्छेलाई भोट हाल्नु विकासका दृष्टिले जोखिमपूर्ण हुने जिकिर गरे। २०६४ सालको निर्वाचनमा नयाँ शक्तिलाई मत दिँदा मुलुकले विकासमा ठूलो मूल्य चुकाउनुपरेको स्मरण गराउँदै उनले त्यसबेलाको अनुभव निकै तितो र अमिलो भएको टिप्पणी गरे।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं काठमाडौँका मेयर बालेन्द्र साह बालेनप्रति लक्षित गर्दै उनको गृहजिल्ला महोत्तरीमा आफूले सडक र पुल निर्माण गरिदिएको दाबी गरे। महोत्तरीको मटियानीदेखि जनकपुर जाने बाटो र साहको घरअगाडिको विकास एमाले सरकारकै पालामा भएको उल्लेख गर्दै उनले झापामा साहको के योगदान छ भनी प्रश्न गरे। 

काठमाडौँका सुकुम्वासी बस्तीमा डोजर चलाइएको प्रसङ्ग जोड्दै ओलीले झापाका सुकुम्वासीहरूले समेत नयाँ भनिएका उम्मेदवार आएपछि आफ्नो पनि उठिवास हुने हो कि भन्ने डर व्यक्त गरेको सुनाए। हरेक क्षेत्रमा 'पर्यटक उम्मेदवार' लाई भन्दा स्थानीय र परिचित अनुहारलाई नै प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो।

एमालेको सङ्घर्ष केवल बहुमत ल्याउन, सांसद वा प्रधानमन्त्री बन्नका लागि मात्र नभएर देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्न र संविधानलाई सही लयमा ल्याउनका लागि भएको उनले बताए। 

लोकतन्त्रको सुदृढीकरण र सुशासनका लागि युवा पुस्ताले यथार्थ बुझ्न आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालको तुवाँलोले फिँजाएको भ्रमबाट मुक्त हुन सबैलाई आह्वान गरे। उनले बालेन्द्र साह उम्मेदवार बन्नुले कुनै ठूलो फरक नपर्ने बताउँदै जनताले काम गर्ने शक्तिलाई नै चिन्ने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ