arrow

ओली झापामा, क्षेत्र नं ५ का दक्षिणी भेगका वडा कमिटीसँग 'वान–टु–वान' संवाद गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
kp-oli-katakchaya.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ का दक्षिणी भेगका कार्यकर्ताहरूसँग विशेष भेटघाट गर्दैछन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि अध्यक्ष ओलीले गौरादह र गौरीगञ्जका स्थानीय तहका वडा कमिटीहरूसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्।

जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका–५, स्कुलचौनस्थित नमुना कृषि खेतीको सभाहलमा यो भेटघाट कार्यक्रम तय गरिएको छ। अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका कमिटीहरूसँग छुट्टाछुट्टै छलफल गर्नेछन्। 

यस क्रममा वडाका पदाधिकारी तथा सदस्यहरूले आफ्नो क्षेत्रको मतदाताको मनस्थिति, विकास निर्माणको अवस्था र पार्टीको सांगठनिक गतिविधिका बारेमा अध्यक्षलाई जानकारी गराउनेछन्। प्रत्युत्तरमा ओलीले पार्टीको नीति, देशको वर्तमान आवश्यकता र झापा क्षेत्र नं. ५ को विकासका लागि आफूले पुर्‍याएको योगदानका बारेमा कार्यकर्तालाई स्पष्ट पार्नेछन्।

भेटघाटका अतिरिक्त अध्यक्ष ओलीले आजै गत भदौ २४ गते 'जेन-जी' आन्दोलनका नाममा तोडफोड र आगजनी गरिएका संरचनाहरूको निरीक्षण गर्ने कार्यक्रम समेत रहेको छ। 

उक्त आन्दोलनका क्रममा गौरादह नगरपालिकाको कार्यालय, विभिन्न वडा कार्यालयहरूका साथै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी र उपमेयर जलवर्षा राजवंशीको घरमा आगजनी गरिएको थियो। यी क्षतिग्रस्त संरचनाहरूको अवस्था बुझेर ओलीले स्थानीय बासिन्दा र कार्यकर्तासँग यस्ता उच्छृङ्खल गतिविधिले पार्ने प्रभावका बारेमा छलफल गर्नेछन्।

अध्यक्ष ओलीले यसअघि नै दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरूसँग छलफल गरिसकेका छन्। अबको योजना अनुसार निर्वाचन क्षेत्रका हरेक वडा कमिटीले अध्यक्षसँग पालैपालो भेट्ने व्यवस्था मिलाइएको छ, जसले गर्दा तल्लो तहका कार्यकर्ताको गुनासो सिधै नेतृत्वसम्म पुग्न सकोस्। निर्वाचनको मुखमा आफ्नै क्षेत्रमा ओलीको यो सक्रियताले एमाले वृत्तमा उत्साह थपेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ