arrow

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, सुन बन्यो सुरक्षित सहारा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
russian-oil.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड खरिदको प्रस्तावमा असहमति जनाउने युरोपेली मुलुकहरूमाथि २५ प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लगाउने धम्की दिएपछि बुधबार विश्वभरका शेयर बजारमा हलचल मच्चिएको छ। यो अनिश्चितताका कारण लगानीकर्ताहरू त्रसित बनेपछि सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित भएका छन्। जसका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले इतिहासमै पहिलो पटक प्रति औंस ४,८०० डलर (करिब प्रति तोला रु २,८५,००० भन्दा बढी) को ऐतिहासिक विन्दु पार गरेको छ।

ट्रम्पको भन्सार धम्की र जापानी सरकारी ऋणपत्रको प्रतिफलमा आएको उतारचढावले एशियाली बजार दबाबमा देखिएको छ। टोकियोको निक्की २२५ ०.७ प्रतिशतले घटेको छ भने दक्षिण कोरियाको कोस्पी ०.५ प्रतिशतले ओरालो लागेको छ। हङकङको हाङ सेङ मा पनि ०.२ प्रतिशतको गिरावट देखिएको छ। यद्यपि, चिनियाँ बजारमा भने केही सुधार देखिँदै शाङ्घाई कम्पोजिट ०.२ प्रतिशतले बढेको छ।

मङ्गलबार वाल स्ट्रिटमा ठूलो गिरावट आएको थियो, जहाँ एस एण्ड पी ५०० २.१ प्रतिशतले घटेर ६,७९६.८६ मा बन्द भएको थियो। विशेषगरी प्रविधि क्षेत्रका ठूला कम्पनीहरू 'म्याग्निफिसेन्ट सेभेन' मा उच्च गिरावट देखियो। एनभिडिया ४.४ प्रतिशत, एप्पल ३.५ प्रतिशत र जेपिमोगन चेस ३.१ प्रतिशतले घटेका छन्। बुधबार भने अमेरिकी फ्युचर मार्केटमा ०.२ देखि ०.३ प्रतिशतको सामान्य सुधार देखिएको छ।

आगामी हप्ता हुने अमेरिकी फेडरल रिजर्भ को बैठक र शुक्रबार सार्वजनिक हुने बैंक अफ जापान (BoJ) को मौद्रिक नीतिको पर्खाइमा छन्। फेडले ब्याजदर ३.५–३.७५ प्रतिशतकै हाराहारीमा यथावत राख्ने अनुमान गरिए पनि बैंक अफ जापानले ब्याजदर थप ०.२५ प्रतिशतले बढाउन सक्ने आँकलन गरिएको छ, जसले मुद्रा बजारमा थप हलचल ल्याउन सक्छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पनि गिरावट आएको छ। अमेरिकी क्रुड ५९.८० डलर र ब्रेन्ट क्रुड ६४.२२ डलर प्रति ब्यारेलमा झरेको छ। विदेशी मुद्रा बजारमा जापानी येनको तुलनामा अमेरिकी डलर १५८.०८ मा झरेको छ भने युरो १.१७१९ डलरमा स्थिर रहेको छ। विश्वका प्रमुख नेताहरू र लगानीकर्ताहरू अहिले डाभोसमा हुने विश्व आर्थिक मञ्चमा राष्ट्रपति ट्रम्पले दिने सम्बोधनलाई विशेष चासोका साथ हेरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ