सुनको मूल्यमा 'विस्फोटक' वृद्धि: एकैदिन दश हजार चारले बढ्यो, तोलाकै झन्डै तीन लाख!
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
700
Shares
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा अस्वाभाविक र भारी वृद्धि भएर नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज बुधबार एकैदिन छापावाल सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले बढेर २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भई प्रतितोला ५ हजार ९२० रुपैयाँ कायम भएको छ। यसअघि मङ्गलबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० र चाँदी ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
यस हप्ताको सुरुदेखि नै सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको छ, जहाँ आइतबार २ लाख ७८ हजार ८०० रुपैयाँ रहेको सुनको भाउ सोमबार २ लाख ८२ हजार रुपैयाँ पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य प्रतिऔँस ४ हजार ७४० अमेरिकी डलर र चाँदी ९५ डलरमा कारोबार भइरहेको छ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, मुद्रास्फीति र विभिन्न मुलुकहरूबीचको भूराजनीतिक तनावका कारण लगानीकर्ताहरूले सुरक्षित लगानीको रूपमा सुनको माग बढाउँदा स्थानीय बजारमा पनि यसको प्रत्यक्ष र ठूलो प्रभाव देखिएको हो।