arrow

कास्कीमा चुनावी उत्साह: आज उम्मेदवारी मनोनयन दर्ता, मैदानमा उत्रिए पुराना र नयाँ अनुहार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
election-2082.jpg

काठमाडौँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा आज उत्साहका साथ उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ। प्रत्यक्षतर्फको निर्वाचनका लागि क्रियाशील राजनीतिक दलहरूले आ-आफ्ना उम्मेदवारहरू तय गरी बाजागाजा र कार्यकर्तासहित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने तयारी गरेका छन्। 

कास्कीका तीनवटै क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् जसमा क्षेत्र नं १ को रामघाटस्थित पशुपन्छी अनुसन्धान केन्द्रमा, क्षेत्र नं २ को ड्यामसाइडस्थित सिँचाइ कार्यालयमा र क्षेत्र नं ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुनेछ।

मुख्य दलहरूले आफ्ना उम्मेदवारहरूको नामावली टुङ्गो लगाइसकेका छन् जसमा नेकपा (एमाले) ले कास्की क्षेत्र नं १ बाट बैनबहादुर अधिकारी, क्षेत्र नं २ बाट कृष्ण थापा र क्षेत्र नं ३ बाट दामोदर पौडेल (बैरागी) लाई चुनावी मैदानमा उतारेको छ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्षेत्र नं १ मा गनेस पौडेल र क्षेत्र नं २ मा पत्रकार उत्तमप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नं १ बाट राजकाजी गुरुङ, २ बाट हेमबहादुर थापा पराजुली र ३ बाट प्रेम पौडेललाई टिकट दिएको छ। निर्वाचन कार्यालय पोखराका अनुसार दलहरूले मनोनयनका लागि छुट्टाछुट्टै समय निर्धारण गरेका छन् जसमा रास्वपाले बिहान १० देखि ११ बजेसम्म र एमालेले दिउँसो १ देखि २ बजेसम्मको समय रोजेका छन् भने राप्रपाले पनि दिउँसो १ बजे मनोनयन दर्ता गर्ने जानकारी गराएको छ।

कास्की जिल्लामा निर्वाचनका लागि कुल एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्रहरू निर्धारण गरिएको छ। जिल्ला निर्वाचन कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार यहाँ कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका छन् जसमा क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८, क्षेत्र नं २ मा ८४ हजार १३४ र क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेका छन्। निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले मनोनयन दर्ताका लागि सम्पूर्ण प्राविधिक र सुरक्षा तयारी पूरा भइसकेको जानकारी दिनुभएको छ। मनोनयन दर्ताको समय नजिकिएसँगै पोखरा र आसपासका क्षेत्रमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ