पोखरा । पोखरामा सोमबार दिउँसो पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई काठमाडौँ पठाइएको छ । उनलाई साँझ करिब ६ः३० बजे काठमाडौँ पठाइएको कास्की प्रहरीले जनाएको छ ।
नागरिक बचाउ महाअभियानअन्तर्गत आयोजित नागरिक सभालाई सम्बोधन गर्न उनी पोखरा आएका थिए ।
लेकसाइडमा आयोजित नागरिक सभालाई सोमबार अपराह्न सम्बोधन गरेका उनी काठमाडौँ फर्किनका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गर्दा पक्राउ परेका थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकको एयरपोर्ट चोकबाट प्रसाईलाई पक्राउ गरिएको हो । पक्राउ गर्दा प्रसाईलाई सार्वजनिक शान्तिविरुद्द कसुरमा पक्राउ पुर्जी थमाइएको थियो ।
नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईले कांग्रेसको आधिकारिकता लिन निर्वाचन आयोगलाई गगन थापा पक्षले ५२ करोड घुस खुवाएको आरोप लगाएका थिए ।
सो आरोपपछि निर्वाचन आयोगले उनलाई कारवाही गर्न साईबर ब्यूरोमा पत्राचार गरेको थियो ।
सोही पत्रका आधारमा साईबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।