बाजुरा । नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
आशन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा एमालेको तर्फबाट युवालाई अवसर नदिएको भन्दै तालाबन्दी गरिएको हो ।
बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको असन्तुष्टि जनाउँदै एमाले निकटका युवा संघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रुपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
पार्टीले नवपुस्ता युवाहरुलाई अवसर नदिई पटक-पटक टिकट पाई उम्मेद्वार बनेर जित्दै आएका व्यक्तिलाई टिकट दिएको विरोध जनाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव रामचन्द्र रोकायाले बताए ।
एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व महासचिव नरेश रोकायालाई प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेद्वार बनाउन टिकट नदिएको र सिंगो एमाले बाजुरेली युवाहरूमाथि खेलवाड गरिएको उनीहरूको भनाइ छ ।
युवाहरुले यस पटकको निर्वाचनमा एमालेका नयाँ अनुहारलाई उम्मेद्वार बनाउनु पर्ने माग राख्दै आएका थिए । तर एमालेले निर्वाचनका लागि केन्द्रीय कमिटी सदस्य लालबहादुर थापालाई सिफारिस गरेपछि युवाहरू आक्रोशित भएका हुन् ।