काठमाडौँ । रामेछापका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको कठिन यात्रा र खाडीको तातो घाम त्यागेर स्वदेशमै जुनारखेतीतर्फ व्यावसायिक रूपमा आकर्षित हुन थालेका छन्। विदेशमा गर्ने जति मेहेनत आफ्नै माटोमा लगाउन सके कम लगानीमै सम्मानजनक र दिगो आम्दानी हुने देखेपछि जिल्लाका थुप्रै युवाहरू गाउँ फर्किएर जुनारको व्यावसायिक उत्पादनमा लागेका हुन्।
विशेषगरी रामेछाप नगरपालिकाका विभिन्न वडाका युवाहरू भारत, मलेसिया र खाडी मुलुकमा वर्षौँसम्म चालक वा मजदुरका रूपमा काम गरेर फर्किएपछि अहिले आफ्नै १५ देखि २० रोपनी जग्गामा जुनारको बगैँचा विस्तार गरेर बसेका छन्। विदेशमा मेहेनत गर्ने बानी परेका यी युवाहरूले आफ्नो बगैँचामा पर्याप्त समय दिने गरेका कारण उनीहरूको उत्पादन अन्य किसानको तुलनामा उत्कृष्ट र दानाहरू आकर्षक हुने गरेको कृषि शाखाका अधिकारीहरू बताउँछन्।
जुनारखेतीबाट किसानले एउटै जमिनबाट दोहोरो फाइदा लिइरहेका छन्। जुनारका बोटहरूका बीचमा खाली रहेको जमिनमा तोरी, भटमास जस्ता कोसेबाली र बन्दा, काउली, लसुन, प्याज जस्ता तरकारी उत्पादन गरेर किसानले अतिरिक्त आम्दानी गरिरहेका छन्।
जुनार उत्पादन हुन थालेपछि बगैँचाबाटै प्रतिकिलो ६० देखि ८० रुपैयाँमा सजिलै बिक्री हुने र बजारमा यसको माग उच्च रहेकाले पनि युवाहरूको आकर्षण बढेको हो। हाल रामेछाप जिल्लाको ६४० हेक्टर क्षेत्रफलमा जुनारखेती विस्तार भइसकेको छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मन्थली र लिखु तामाकोसी क्षेत्रलाई 'जुनार जोन' घोषणा गरी प्राविधिक सहयोग र चिस्यान केन्द्र निर्माणमा समेत सघाइरहेको छ।
रामेछापमा उत्पादित जुनारले बजार नपाउने कुनै समस्या नरहेको र उद्योग वाणिज्य सङ्घले छिमेकी जिल्लाहरू सिन्धुली, दोलखा र काठमाडौँसम्म बिक्रीका लागि सहजीकरण गरिरहेको छ।
दैनिक रूपमा वैदेशिक रोजगारीका लागि विदेशिने हजारौँ युवाका लागि रामेछापको यो 'जुनार क्रान्ति' एउटा ठूलो पाठ बनेको छ। स्थानीय पालिकाहरूले यस्ता कृषि कर्ममा युवाहरूलाई प्रोत्साहन र उचित अनुदान दिन सके वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई स्वदेशमै सिर्जना गरिएका यस्ता अवसरले विस्थापित गर्न सक्ने देखिन्छ।