मुद्दामामिला त्यागौँ, निर्वाचनमा जुटौँ: देउवा पक्षलाई नयाँ कार्यसमितिको विशेष अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
1k
Shares
काठमाडौँ। नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको आगामी दिनमा अभिभावकीय भूमिकाको खाँचो रहेको औँल्याएको छ। शनिबार बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले देउवाले पार्टीलाई पुर्याएको ठुलो योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गर्दै उनीप्रति सम्मान र आभार व्यक्त गर्ने औपचारिक निर्णय गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेले देउवाको लामो राजनीतिक अनुभव र नेतृत्व क्षमताले आगामी दिनमा पनि कांग्रेसलाई मार्गदर्शन गरिरहने विश्वास व्यक्त गर्दै उनलाई अभिभावकीय भूमिकामा रहन आग्रह गरिएको जानकारी दिए।
बैठकले निवर्तमान केन्द्रीय कार्यसमितिका सदस्यहरू र अन्य अग्रज नेताहरूलाई समेत पार्टीको काममा सक्रियतापूर्वक फर्किन र कांग्रेसलाई इतिहासमा जस्तै बलियो बनाउन आ–आफ्नो तहबाट योगदान दिन आह्वान गरेको छ।
विशेष महाधिवेशनपछि उत्पन्न नयाँ परिस्थितिमा पार्टी अब पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा होमिन लागेको प्रवक्ता चालिसेले बताए। निर्वाचनका लागि समय निकै कम भएकाले उम्मेदवार छनोट लगायतका महत्त्वपूर्ण कार्यहरू सम्पन्न गर्न तत्कालै संसदीय बोर्डको बैठक बस्ने र तीव्र गतिमा काम अगाडि बढाउने निर्णय भएको छ।
निर्वाचन आयोगले कांग्रेसको विधान र प्रचलित संविधान अनुसार नै आफूहरूलाई आधिकारिकता प्रदान गरिसकेको उल्लेख गर्दै प्रवक्ता चालिसेले अबको समय विवाद र मुद्दामामिलामा खर्च नगर्न अर्को पक्षलाई आग्रह गरे। यद्यपि, शेरबहादुर देउवा पक्षले भने शनिबार नै छुट्टै बैठक बसी आयोगको निर्णयको विरोध गर्दै आइतबार सर्वोच्च अदालत जाने निर्णय गरिसकेका छन्।