नागरिकता विवादबाट नेपाली राजनीतिको केन्द्रमा उदाएका पात्र हुन् रवि लामिछाने । उनलाई देश दुख्दैन ।देश दुखेको दुरूह प्रहसन भने गरिरहन्छन् । त्यही बाचाल सीप प्रयोग गरेर आजका दिनसम्म उनी सान्दर्भिक/असान्दर्भिक बनिरहेका छन् । राजनीति तरंगित छ । उनी नेपालमा जन्मिएका जन्मसिद्ध नेपाली नागरिक थिए । महत्वाकांक्षाले उनलाई अमेरिका पुर्यायो ।
उनी अमेरिकी नागरिक बने । अमेरिकी नागरिक हुँदाहुँदै लामो अन्तर्वार्ता लिने व्यक्तिको रुपमा विश्व रेकर्ड बनाइ गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भए । त्यही कार्ड उपयोग गरेर सोझा र सिधा नेपालीलाई मूर्ख बनाउन सकिन्छ भन्ने महत्वाकांक्षा बोकेर विदेशी नागरिकको हैसियतमा नेपाल आएका लामिछानेले नेपालको कानूनले नदिएको दोहोरो नागरिकता तथा राहदानी प्रयोग गरी नेपालमा जागिर खाने, कम्पनी खोल्ने, सञ्चार माध्यममा काम गर्ने, राजनीतिक दल खोल्ने सबै कानूनले नदिएका बाटाहरू समाए ।
जब उनीमाथि प्रश्न उठ्न थाल्यो, उनको एउटै र सिधा उत्तर देखियो ।नेपालको कानूनको बारेमा थाहा थिएन । जुन बेला उनले त्यसो भनिरहेका थिए, उनी नेपालको वैधानिक नागरिक नै थिएनन् । यो ध्रुव सत्य हो ।
उनले त्यतिखेरसम्म उनका विरुद्ध लेख्ने पत्रकार, लेखक तथा आमसञ्चारका व्यक्तिहरूमाथि अश्लील गाली गर्ने र ती व्यक्तिहरूसँग जोडिएका दिदीबहिनी, आमा, श्रीमती तथा परिवारका सदस्यहरूको अस्मितामा खलल पुग्ने गरी गैरचारित्रिक टिकाटिप्पणी गर्न साइबर जत्था तयार पारिसकेका थिए ।
सामाजिक सञ्जालको दुरुपयोगबाट नेपालको राजनीतिको नयाँ कु-संस्कृतिको शुरूआत यिनै रवि लामिछानेबाट भयो । यसैलाई राजनीतिक संस्कार बनाए । दशौँ हजार साइबर जत्था तयार गर्न सक्ने यी पात्रले देशको चौथो अंगको रूपमा रहेको सञ्चार माध्यममा रहँदा तत्कालीन समयमा देश सञ्चालनमा बसेका पात्र/कुपात्र (राजनीतिक तथा प्रशासनिक) को तीखो टिप्पणी गर्थे ।
त्यतिखेर यिनले ती व्यक्तिको जिम्मेवारी र दायित्वको बारेमा बेलिबिस्तार लगाउँथे । जब त्यही विषय आफूमाथि तेर्सियो, कानूनी प्रश्न र सुशासनको विषयमा सधैं बेखबर भएको र थाहा थिएन भनी ओठे जवाफ फर्काए । सोझा नेपालीले त्यसलाई पत्याए ।उनी निन्दा गर्छन्, गाली गर्छन्, असहिष्णु भाषा र हाउभाउ देखाउँछन् र भन्छन् - टाइगर अभि जिन्दा है।
सायद उनी त्यही अराजकतामा आफ्नो अस्तित्व देख्छन् । अराजकता, अशिक्षा, भोकमरी, रोग, भोक, शोक तथा भ्रष्टाचारको कुरा गरी मसिहा हुँ भन्ने भ्रम उनमा छ । आफ्नो गल्ती/आपराधिक क्रियाकलाप ढाकछोप गर्न उनले नेपाल सरकार, राजनीतिक दल, तिनका नेता, महान्याधिवक्ताको कार्यालय, प्रहरी प्रशासनको चरम दुरुपयोग गरेको विगत र वर्तमानका घटनाहरूले प्रष्ट हुन्छ ।
न्यायालयलाई अवान्छित दबाब र प्रभाव पार्न उनले सिंगो पार्टी पंत्तिलाई हस्ताक्षर संकलन गर्न उपयोग गरे ।राजनीतिक दाउपेच गरी आफ्नो अपराध कर्म ढाकछोप गर्न दलका कार्यकर्तालाई दुरुपयोग गर्नेमा पनि उनले विश्व रेकर्ड नै कायम गरे ।लोकतान्त्रिक अभ्यासको भ्रष्ट उपयोग गर्ने व्यक्ति ठानिए ।
गत आम चुनावमा नेपाली जनताले दिएको अभिमतलाई दुरुपयोग गर्दै उनी २/२ पटक गृहमन्त्री भए । आफू गृहमन्त्री हुँदा आफू र आफूसँग जोडिएका भ्रष्टाचार, ठगी, सहकारी ठगी, दोहोरो नागरिकता, दोहोरो राहदानी, अवैध श्रम सम्बन्ध, सम्पत्ति शुद्धिकरणलगायत विषयमा अनेक उपाय लगाएर क्लिन चिट लिन सक्षम यी व्यक्ति सत्ता वरिपरि रहेका शक्तिशाली नेताहरूसँग जोडिइरहे ।
साँठगाँठ गरे र भरपुर फाइदा लिए।आम चुनावपछि कहिले पुष्पकमल दाहाल प्रचण्ड त कहिले केपी ओलीको दौराको फेरो समाएर आफूलाई जोगाउँदै आए । न्यायालयबाट दोहोरो नागरिकताको कारण झापड पाएर पनि त्यसअघि गरेका गैरकानूनी क्रियाकलाप, अपराध कर्मबाट जोगिन उनले गर्न हुने र नहुने सबै साँठगाँठ गरे ।
गैरराजनीतिक, गैरसामाजिक माहोलमा अत्यन्त अशोभनीय तथा असहिष्णुता प्रदर्शन गरेर कमाएको सोझा सिधा जनताको विश्वासलाई राजनीतिको दाउपेच बनाएर यी लामिछानेले राजनीतिलाई आफ्ना कुकर्म पखाल्ने माध्यम बनाए । गैरकानूनी क्रियाकलापबाट जोगिने प्रयास जारी छ ।
पुर्पक्षको क्रममा थुनामा रहेका यी व्यक्तिले जेन जी आन्दोलनको मौका छोपेर नक्कली पत्र सार्वजनिक गरी जेल तोडेर बाहिर निस्के । यिनैको नेतृत्वमा अदालत तथा सरकारी वकील कार्यालय जलेर भग्नावशेष बने । धेरैको मिसिल जलेर नष्ट भए । यिनको नेतृत्वमा जेल तोडेर बाहिरिएका नेपालभरका हजारौँ कैदीबन्दी थुना बाहिर छन् ।
लुटिएका हजारौँ बन्दुक तथा गोलीगठ्ठा अपराधीको हातमा छ । कुनै पनि बेला ती हतियार तथा गोलीगठ्ठा सोझा सिधा नेपाली जनताको कन्चट तथा गर्दनमा तेर्सिने छन् । त्यतातिर यिनलाई कुनै चासो छैन । यिनको मुख्य उद्धेश्य कसरी कानूनी छिद्र प्रयोग गरेर आफूले गरेको आपराधिक दायित्व तथा सजायबाट उन्मुक्ति कसरी पाउन सकिन्छ भन्ने मै केन्द्रित छ ।
पछिल्लो समय जेन-जीको नाममा वालेन्द्र साह बालेनसँग पार्टीगत एकता गरेर सरकारी संयन्त्रमा पहुँच पुर्याएका यिनले पुराना नेताहरूले जस्तै राजनीतिक दाउपेच गरी आफूलाई आपराधिक उन्मुक्ति दिलाउने बाटो रोजे । आफ्नो अपराध लुकाउन र आफूलाई जोगाउनमात्र राजनीतिमा होमिएका यी व्यक्तिले आफ्नो राजनीतिक दाउपेचको माध्यमबाट न्यायको पहुँचलाई दुरूह बनाइदिए ।
आफू निर्दोष छु भनेर न्यायालको भरोसामा बस्नु र न्यायालको माध्यमबाट निर्दोष सावित हुने बाटो रोज्नुको साटो आफूले नै ठगीमा सावित भै मेरो भागमा परेको रकम भुक्तानी गर्न पाउँ भनी निवेदन दिएर त्यसैको टेकोमा थुना मुक्त हुने बाटो रोजे ।
यिनले नेपाल सरकार र महान्यायाधिवक्ताको कार्यालयको पटक पटक चरम दुरुपयोग गरी सम्पत्ति शुद्धिकरण र संगठित अपराधबाट उन्मुक्ति लिने बाटो बनाए।पहिले अनुसन्धान रोक्नको लागि क्लिन चिटको बाटो प्रयोग गरे भने अहिले राजनीतिक पहुँच तथा लसपसको दुरुपयोग गरी अभियोजन संशोधनलाई माध्यम बनाए ।
महान्याधिवक्ताको कार्यालय र त्यसको नेतृत्वको चरम दुरुपयोग भयो । अपराधबाट जोगिँदै र जोगाउँदै जाने हो भने निरअपराधी मानिस मात्रै कठघरामा बस्नुपर्ने र सजाय भोग्नुपर्ने अवस्था आउँछ । यी र यस्तै गतिविधिबाट न्यायालयप्रतिको आशा तथा भरोसा डगमगाउँछ । यस परिस्थितिमा अनुसन्धानकर्ता, अभियोजनकर्ता र निर्णयकर्ताको मनोबल खस्किएर नेतृत्व तहमा बस्ने व्यक्तिको इशारामा न्याय कठपुतली बन्न पुग्छ । रवि लामिछाने भन्ने एक जना खलपात्रको कारण सिंगो न्याय सम्पादन नै अवशासनको बाटोमा जाने निश्चित छ ।