arrow

'पेन्डुलम' परेका शेखर भन्छन् - गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गए [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
koirala-shekhar-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर  मात्रै गएको टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगमा आधिकारिकता दाबीका लागि पुगेका उनले यस्तो बताएका हुन्। उनले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको भन्दै उनले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमले बाध्य बनाएको बताए ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने उनले बताए ।

उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भए पनि विशेष महाधिवेशनको कार्यसूची, कार्यतालिका, कार्यविधिहरू केन्द्रीय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गरे ।

कुनै पदाधिकारीले विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको भन्दै व्यक्ति नभइ संस्थाले गरेको निर्णय नै आधिकारिक हुने दाबी गरे ।

गगन थापाको समूहबाट गत १४ औँ महाधिवेशनमा सभापतिमा चुनाव लडेका कोइराला समर्थक नेताहरू विशेष महाधिवेशनमा भए पनि आफू आउन सकेनन् । 

अहिले कांग्रेसमा प्रष्ट, भ्रष्ट र पेन्डुलम गरी तीन कित्ता भएको दाबी गरिएको छ । कोइराला पेन्डलुम धारमा रहेको दाबी कांग्रेसी नेताहरू नै बताउँछन् । 

उनलाई शेरबहादुर देउवाले विविध आश्वासन दिएको अनुमान गरिए पनि देउवा पक्षका एक नेता भने उनलाई आफूहरू पक्षको नेतृत्व दिने सम्भावना नभएको बताउँछन् । 

पार्टीको विधानअनुसार विशेष महाधिवेशन गर्नेलाई आधिकारिक नभएको बताउने शेखरलाई विशेष महाधिवेशन टार्न नसकिनेबारे कुनै ज्ञान नभएको आरोप पनि लागेको छ । 

तर उनी यसलाई नबुझेजस्तै गरी भनिरहेका छन्, ‘हामी यहाँ आउनै नपर्ने जस्तो मलाई लाग्छ । तर सञ्चारमाध्यमले हामीलाई बाध्य बनाइदिए । उहाँहरूले निर्णय गर्न मिल्छ ? देशको निम्ति, नेपाली कांग्रेसको निम्ति यो परिस्थिति आएको छ । लोकतान्त्रिक पद्धतिअनुसार निर्णय गर्नुहुनेछ। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले बोलाउने अधिकार छ तर विशेष अधिवेशनको कार्यसूचि, कार्यतालिका, कार्यविधि सबै केन्द्रीय समितिले बनाउनुपर्छ भन्ने कुरा स्पष्ट रुपमा विधानले भनेको छ । नेपाली कांग्रेसको सिंगो केन्द्रीय सदस्यहरू यहीँ हुनुहुन्छ । केही चोइटिएर जानुभएको होला । तर सिंगो केन्द्रीय सदस्य यहाँ हुनुहुन्छ । कसैले, कुनै पदाधिकारी वा विशेष अधिवेशन बोलाउने अधिकार छ की छैन, नेपाली काँग्रेसको विधानले त्यो अधिकार दिएको छैन । आज टुँडिखेलमा गइकन कुनै निर्वाचन आयुक्तले ६ गते निर्वाचनको नोमिनेसन हुँदैन भन्यो भने निर्वाचन आयोगलाई मान्य हुन्छ की हुँदैन? यो गम्भीर विषय हो । यो कुरा सोच्नुपर्छ । व्यक्ति होइन संस्था खोजेको हो । संस्थालाई हेरेर अघि बढ्नुपर्छ। जुन साथीहरूको सिग्नेचर तपाईंहरूलाई पनि आएको होला । ति सिग्नेचर फिर्ता भएको निस्सा तपाईंहरूलाई प्रश्तुत गर्नेछौँ ।’

उनले महाधिवेशनमा गएका आठ सय ८५ जना महाधिवेशन प्रतिनिधिहरूले उक्त महाधिवेशनबाट आफूहरू फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको जानकारी दिए।

आयोगलाई उक्त हस्ताक्षरसहितको प्रमाण पनि पार्टीले पेश गरेको छ ।

वरिष्ठ अधिवक्ताहरूलेसमेत भनिरहेका छन् कि हस्ताक्षर भनेको मत हो, मत हालेपछि फिर्ता लिन मिल्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ