सिंहदरबारमा 'स्वजागरण' बहस: सुशासन र समृद्धिका लागि प्रधानमन्त्री कार्कीको नयाँ पहल
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
729
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा 'सुशासन र समृद्धिका लागि स्वजागरण' कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मन्त्रीगण, प्रधान सेनापतिसहित सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव, सचिवहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणका विषयमा प्रवचन दिँदै व्यक्तिलाई आन्तरिक रूपमा व्यवस्थित बनाउने उपायबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
विभिन्न सामाजिक–राजनीतिक आन्दोलन र नयाँ पुस्ता (जेनजी) ले उठाएको सदाचारको मागलाई सम्बोधन गर्न स्वजागरणलाई दैनिक जीवनको हिस्सा बनाउनु आवश्यक रहेको उनले बताइन्। प्रधानमन्त्रीका अनुसार स्वजागरणले व्यक्तिलाई अनुशासित र कर्तव्यनिष्ठ बनाई अधिकारसँगै आफ्नो जिम्मेवारीको बोध गराउँछ, जसले अन्ततः समृद्ध समाज निर्माणमा सहयोग पुर्याउँछ।