काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ।
खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमोमा सवार झापा मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारलाई ५७ हजार अमेरिकी डलरसहित नियन्त्रणमा लिइएको हो।
नियमित सवारी चेकजाँचका क्रममा नेवारको साथबाट बरामद गरिएको उक्त डलरको स्रोत नखुलेपछि प्रहरीले उनलाई हिरासतमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
उक्त डलर नेपाली बजार मूल्यअनुसार ७६ लाख रुपैयाँभन्दा बढी हुन आउँछ। बरामद रकम र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन्।