arrow

नेपाल–भारत सीमा वारपार गर्दै हुनुहुन्छ? जान्नुहोस् अब साथमा कति नगद बोक्न पाइन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
indian-currency-note.jpg

काठमाडौँ । सरकारले नेपाल र भारतबीच आवतजावत गर्दा नागरिकले बोक्न पाउने नगद मुद्रासम्बन्धी नयाँ र स्पष्ट व्यवस्था राजपत्रमा प्रकाशित गरेको छ। जसअनुसार नेपाली र भारतीय नागरिकले भारतीय १०० रुपैयाँभन्दा कम दरका नोटहरू र जुनसुकै दरका नेपाली नोटहरू बिना कुनै सीमा (असीमित रूपमा) भारत लैजान र नेपाल भित्र्याउन पाउनेछन्।

यद्यपि, ठूला दरका भारतीय नोटहरूको हकमा भने निश्चित सीमा तोकिएको छ। सन् २०१६ को नोटबन्दी पछि जारी भएका भारतीय २०० र ५०० रुपैयाँका नोटहरू प्रतिव्यक्ति बढीमा २५ हजार भारतीय रुपैयाँसम्म मात्र साथमा राखेर सीमा वारपार गर्न पाइनेछ।

भारत सरकारले सन् २०१६ नोभेम्बर ९ मा गरेको नोटबन्दीको निर्णयलाई ध्यानमा राख्दै सो मितिभन्दा अगाडि प्रचलनमा रहेका पुराना ५०० र १००० का भारतीय नोटहरूको कुनै पनि कारोबार गर्न नपाइने गरी पूर्ण प्रतिबन्ध लगाइएको छ।

नेपाली मुद्राको सन्दर्भमा राष्ट्र बैंकले तोकेको सीमा लागू हुनेछ भने भारतीय मुद्रा भारतबाहेक अन्य तेस्रो मुलुकमा लैजान वा पठाउन पाइने छैन। तर, कानुनी रूपमा इजाजतप्राप्त संस्थाबाट सटही गरी प्राप्त गरिएको अन्य विदेशी मुद्रा भने नियमअनुसार बाहिर लैजान सकिने व्यवस्था गरिएको छ।

विदेशी नागरिकहरूको हकमा नेपाल भित्रिँदा आफूसँग ल्याएको ठूलो परिमाणको विदेशी मुद्रा भन्सार बिन्दुमा घोषणा गरी प्रमाणित गराउनुपर्ने अनिवार्य व्यवस्था छ, ताकि नेपालबाट बाहिरिँदा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रकम लैजान सहज होस्।

सरकारले यस सूचनामार्फत सीमा नाकामा हुने मुद्राको अवैध ओसारपसार नियन्त्रण गर्ने र वित्तीय कारोबारलाई थप व्यवस्थित एवं पारदर्शी बनाउने लक्ष्य लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ