तयारी बिनै आजदेखि राष्ट्रिय लिग शुरू, विजेतालाई ५० लाख, १७ टिमबीच भिडन्त
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
869
Shares
काठमाडौँ । आजदेखि राष्ट्रिय लिग फुटबल शुरू हुँदैछ । १७ टिमले उपाधिका लागि भिडन्त गर्नेछन् । काठमाडौं र ललितपुरका तीन ओटा मैदानहरू (दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदान) मा कूल १३६ खेल सञ्चालन हुनेछन् ।
यस पटक लिगको विजेताले ५० लाख, उपविजेताले २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । अनुशासित (फेयर प्ले) टिमलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ ।
हरेक खेल जितेबापत २० हजार रुपैयाँ पाउनेछन् । राष्ट्रिय लिग च्याम्पियनले एएफसी क्लब च्याम्पियनशिप खेल्ने पाउनेछ । हरेक टोलीले कम्तीमा २३ र बढीमा ४० खेलाडी अनुवन्ध गर्न पाउने प्रावधान छ । –
लिगमा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, न्यूरोड टिम (एनआरटी), लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब, काँक्रेविहार स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, एपीएफ क्लब, प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब गरी १७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स क्लब भिड्ने छन् ।
तयारी बिनै मैदानमा
शीर्ष डिभिजन लिगको सट्टामा आयोजना गरिएको राष्ट्रिय लिगमा सहभागी अधिकांश क्लबले छोटो समयको तयारी र समयमै खेलाडी उपलब्धबिना नै प्रतियोगिता खेल्दैछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको राष्ट्रिय लिग आजदेखि शुरु हुँदैछ । नेपाली फुटबल विकासको मेरुदण्डको रूपमा रहेको शीर्ष ‘ए’ डिभिजन लिग पछिल्लो साढे दुई वर्षदेखि हुन सकेको छैन ।
एन्फाले सोही शीर्ष डिभिजन लिगको सट्टा राष्ट्रिय लिग गरेको छ । राष्ट्रिय लिगमा २०७९ सालमा भएको लिगको शीर्ष १२ वटा क्लवमध्ये ११ टोली, एन्फा प्रिसिडेन्ट लिगको शिर्ष चार क्लब र ‘बी’ डिभिजन लिगबाट बढुवा भएका (प्लानिङ ब्वाइज र श्री भगवती क्लब) दुई टोलीले खेल्न लिगका हुन् ।
शीर्ष डिभिजन क्लब हिमालयन शेर्पा भने राष्ट्रिय लिगमा सहभागी भएको छैन । हिमालय शेर्पा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाको टोली हो ।
राष्ट्रिय लिगअगाडि मंगलवार टोलीका प्रशिक्षक र कप्तानहरूसँग भएको पत्रकार सम्मेलनमा १७ वटा टोलीमध्ये नवजागृति र काक्रे बिहार भने उपस्थित भएन । यद्यपि पत्रकार सम्मेलनमा अधिकांश टोलीले तयारी पर्याप्त नभएको उल्लेख गरे । साथै खेलाडी पलायनका कारण युवा खेलाडीलाई प्राथमिकतामा राखेको क्लबको भनाइ थियो ।
लिग शुरू हुनुभन्दा एक दिन अगाडिसम्म पनि केही क्लबले अझै खेलाडी अनुबन्ध गर्न बाँकी रहेको उल्लेख पनि गरेका छन् । यद्यपि, तीन विभागीय टोलीले मात्र नियमित तयारी हुँदै आएको बताए ।
तथापि नेपाल पुलिस क्लबले खेलाडी विदेश पलायन आफ्नो क्लबले बेहोर्नु परेको उल्लेख गर्यो । पहिलो दिनको दुवै खेल एन्फा कम्प्लेक्समा हुँदैछन् । फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले युवा खेलाडीलाई समेट्दै टोली निर्माण गरिएको र तयारी पनि राम्रो भएको बताए । त्यसैले सुखद नतिजा आउने उनको आशा छ । उनले लिगमा शीर्ष ६ भित्र नै पर्ने लक्ष्य रहेको बताएका छन् ।
कप्तान रुपेश केसीले पनि राम्रो टोली बनेको उल्लेख गरे । क्लबको लक्ष्य विदेशी खेलाडी नराख्ने र स्वदेशीलाई प्रोत्साहित गर्ने रहेको कप्तान रूपेशको भनाइ छ ।
फ्रेन्ड्सको प्रतिद्वन्द्वी काक्रे बिहार भने सहभागी भएन ।
श्री भगवती क्लबका कप्तान अशोक खवासले राष्ट्रिय लिगको तयारी राम्रो हुन नसकेको उल्लेख गरेका छन् । कुनै एउटा नकआउट प्रतियोगिता खेलेको जस्तै रहेको उनको धारणा छ ।
तथापि, टोलीमा राम्रा खेलाडी आबद्ध गरिएको उनी बताउँछन् । त्यसैले राम्रो नतिजा आउने श्री भगवतीको आशा छ । श्री भगवती क्लबका सहायक प्रशिक्षक धनेश्वर प्रजापतिले टोलीमा अनुभवी घरेलु खेलाडी र विदेशी खेलाडी रहेको बताए ।
राष्ट्रिय टोलीबाट खेलिसकेका र प्रतिभावान् खेलाडीलाई टोलीमा समेटिएको उनी बताउँछन् । पहिलो खेलमा ध्यान केन्द्रीत रहेको र तयारीमा ३० प्रतिशत मात्र काम भएको उल्लेख गरे । त्यसैले टिम सन्तुलनमा धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । तथापि, उनले आफ्नो टोलीको लक्ष्य शीर्ष तीनभित्र पर्ने रहेको दाबी गरेका छन् ।
श्री भगवतीको प्रतिद्वन्द्वी चर्च ब्वाइज युनाइेडका सहायक प्रशिक्षक रमेश दंगालले तयारी राम्रो रहेको र उपाधिका लागि खेल्ने विश्वास व्यक्त गरे । कप्तान एरिक बिष्टले भने समय अपर्याप्त भए पनि तयारी राम्रो भएको बताए । आफ्नो क्लबमा युवा, विदेशी र घरेलु खेलाडीको सन्तुलन मिलेको उनको विश्वास छ । पहिलो खेलमा राम्रो नतिजा आउन उी बताउँछन् ।
घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै आएको मच्छिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले ढिला गरी तयारी गरिएकाले विगतको जस्तो टोली नरहेको बताएका छन् । धेरै खेलाडी गोल्डकप खेल्न गएकाले पछिल्लो एक हप्ताबाट मात्र प्रशिक्षण सुरु गरेको उनको भनाइ छ । धेरै खेलाडीमा फिटनेसको समस्या रहेको उनले उल्लेख गरे । सोचेजस्तो टिम नभए पनि उपाधिका लागि नै खेल्ने उनको विश्वास छ ।
कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले पनि तयारी प्रभावकारी बन्न नसकेको उल्लेख गरे ।
एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले मैदानको समस्याले तयारी प्रभावकारी हुन नपाएको बताउँछन् । राष्ट्रिय लिगको तयारीका लागि केही अगाडिदेखि शुरू गरे पनि सबै खेलाडी उपलब्ध हुन नसकेको प्रशिक्षक सिन्केमान बताउँछन् । समग्रमा टोली राम्रो भएकाले उपाधिकै लागि खेल्ने उनको भनाइ छ ।
एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर चित्लाङ एफसीले राष्ट्रिय लिग खेल्दै छ । एन्फा एकेडेमीको पहिलो ब्याजको खेलाडी प्रज्वल प्रताप क्षेत्रीको प्रशिक्षणमा राष्ट्रिय लिग खेल्न लागेको चित्लाङ एफसीमा अनुभवी खेलाडीको कमी रहेको छ ।
प्रशिक्षक क्षेत्रीले अनुभवी खेलाडी नभए पनि राम्रो खेल प्रदर्शन गर्ने लक्ष्य राखेका छन् । टोलीमा अधिकांश खेलाडी युवा रहेको उनी बताउँछन् ।
विभागीय टोलीले पनि नियमित प्रशिक्षण भइरहेकोले तालमेलमा समस्या नहुने बताएका छन् । एन्फाले पहिलो चरणमा फागुन १५ गतेसम्मको राष्ट्रिय लिगको मिति तय गरिसकेको छ । यसबीच कुल १३६ खेलमध्ये ६४ वटा लिग खेल सम्पन्न हुनेछन् ।
एन्फाको अर्ली इलेक्सन घोषणा भएकाले एन्फाले दोस्रो चरणको मिति तय गरेको छैन । यसलाई अदालतले भने हाललाई रोक लगाएको छ ।